23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

महादीप पोख्रेलको कविता -हामी ….

    | प्रकाशित मितिः आइतवार, पुस १, २०७५  

हामी
————
बच्चै देखि स्कुलमा घोकेको कुरा
गुरुहरुले पढाउनु भएको कुरा
हटी होइन डटी लड्ने
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो
मागी मीठो खादैन,चोरी राम्रो लाउदैन
ज्योतीको पंख उचाली आदि ईत्यादी
अनि मन लागे पनि नलागे पनि
श्रीमान गंभिर नेपाली
अलिक हुर्के बढेपछि
महाकबिको यात्री र भुपीको हामी पनि पढेकै हो

पाख्रीन,जीवन शर्मा र रामेशहरुलाई सुनेकै हो
अब इतिहास र भूगोलको कुरा गरौं
एकछिन गमेर सोचौ
सगरमाथाको शिर
अनि गौतम बुद्धको काखमा
भृकुटी र सिताको माइती देशका
अरनिको कर्ममा गर्व गर्ने हामी कर्मठ नेपाली
पृथ्वीनारायणले एकीकरण गरे वा साम्राज्य बिस्तार गरे
फिरीङ्गीहरु सँग लडे वा आफ्नै दाजुभाइको मारकाट गरे
ब्याख्या आ- आफ्ना होलान्
जसरी,कसरी,किन, कहिले ,कहाँ
जहाँ र जहिले भएपनी हामी नेपाली
कसैको निम्ति राष्ट्र निर्माता
कसैको निम्ति क्रुर साम्राज्यबादी
जस्ले जे भने पनि हाम्रो नेपाल ,हामी नेपाली
सिन्धुलीगढी र मकवानपुरमा बिरता प्रदर्शन गर्दैव
फिरिङ्गीलाई धुलो चटाउने
अनि टिष्टा र काँगडा सम्म फैलिएका हामी वीर नेपाली
तर आज ,उफ !!

स्वाभीमान बेच्न बेर नलाउने
अनि टुलुटुलु हेरेर बस्ने
हामी हुतीहारा अचेत हामी नेपाली
अर्काको सिमा रक्षाका खातिर
ज्यानको बाजि लगाउने
बिरताको फोस्रो महिमा गाउने
आफ्नो सिमाहरु मिचिदा
हाम्रा घरबार र सम्पत्ती लुटिदा
हामी कुटिदा,मारिदा

हाम्रा चेलीहरुको अस्मिता धरापमा पर्दा पनि
लुटेराकै पाउमा लम्पसार पर्दै दयाको अर्चना गर्ने
बुद्धीहिन अचेत हामी नेपाली
चाहे हामी राष्ट्रबादका नारा घन्काऔ
वा राष्ट्रघातका विरुद्ध जागौ
यो त केही समयको खेल मात्र भएको छ
जे गरौ अन्ततोगत्वा सत्ताको निम्ति भर्‍याङ भएको छ
भनिन्छ बिश्व कै उत्कृष्ट संविधान बनायौ रे
खै सोही दिन देखि देशमा नयाँ आगो लगायौ रे
घुषखोरी हाम्रो सँस्कार भएको छ
सुदखोरी हाम्रो पेशा भएको छ

हामीलाई दिन कटाउन दारु चाहिने भएको छ
हाम्रा नेतृत्वहरुलाई रमझमको निम्ती
डलर र भारु चाहिने भएको छ
धर्म त अहिले बदलिएर अधर्म भएको छ
खासमा भनौ धर्म बदलिएर राजनिती र धन्धा भएको छ
तृष्णा,चोरी , चाकरी हाम्रो कर्म भएको छ
त्यसैले त हामीलाई
जस्ले जहाँ पनि लान सक्छ
उस्को ईच्छा अनुसार
ल्याप्चे लगाउन सक्छ
जिन्दावाद भनाउन सक्छ
मुर्दाबाद कुर्लाउन सक्छ

यही जिन्दावाद र मुर्दाबादको नशामा हामी लठ्ठीएका छौ
हामीले अनेकौं आन्दोलन र क्रान्ती गर्‍यौ
२००७,२०२८,२०३६,२०४६अनि २०५२-०६३मा पनि
सहभागिता जनायौ र रगत बगायौ

तर अन्तिममा निर्णय अर्कैले गर्‍यो
नेताहरु मोटाए र बिदेशीलाई पोसाए
हामी हरेक पल्ट ठगियौ
तर हामी पटकपटक ठगिदा र लुटिदा पनि
ईमानदार र सोझो, हामी शान्तीप्रीय अबुझ नेपाली
यो हल्लै हल्लाको देशमा
बस ,अनेकथरी हल्ला चल्छन
कागले कान लग्यो भन्ने हल्ला चले पुग्छ
अन्धाधुन्ध दुगुरीरहने हामी हुल्लडबाज नेपाली
यसैले गर्दा हामी ठगिनु ठगिन्छौ
हरेक पटक फैसला परचक्रीले लिएका छन
परिवर्तन पछी उनिहरु नै मोटाएका छन
हामी त दिनदिनै परजीवी भएका छौ
चामल र दाल पनि उतै बाट मगाएका छौ
श्रम र पसिनाको मोल लगाउन उतै गएका छौ
हामीलाई कसैले केही दिए पुग्छ
बस के लिने के नलिने
हामीलाई केही मतलब छैन
बीस होस वा अमृत होस

हामीलाई लिन पाए पुग्छ,पिउन पाए पुग्छ
ङिच्च हासेर बिबशसतामा जिउन पाए पुग्छ
बदलामा आफ्नी आमालाई नै किन बुझाउन नपरोस
दिदीबहिनीको अस्मिता लुटिन किन नपरोस
लिन र दिनमा लाचार र बेइज्जती हामी नेपाली
त्यसैले त हामी दिनानुदिन परजीवी बन्दैछौ
हामी हुतिहारा,मगन्ते बन्दैछौ
हामी बुद्धिहिन ,मूर्ख र मगन्ते बहादुर बन्दैछौ
हामी नेपाली ,हामी नेपाली !!

महादीप पोखरेल

प्रकाशित मितिः आइतवार, पुस १, २०७५     6:56:05 PM  |

प्रतिक्रया दिनुहोस्