19 January 2019  |   शनिबार, माघ ५, २०७५

देशकै सर्वाधिक धनराशिको खप्तड गोल्डकपमा साविक विजेता आर्मीले खेल्न नपाउने

    | प्रकाशित मितिः बिहिबार, पुस १९, २०७५  

धनगढी। पौष २४ गतेदेखि धनगढीमा आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशिको तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपमा सहभागी हुने टोलीको टुंगो लागेको छ। आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले बिहीबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिमा सहभागि टोलीहरूको टुंगो लागेको जनाएको हो।

प्रतियोगितामा आयोजकबाहेक नौवटा ‘ए’ डिभिजनसहित देशका विभिन्न स्थानका तीन क्लब र दुईवटा विदेशी टोलीले सहभागीता जनाउने भएका छन्। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबसहित ए डिभिजन क्लबहरू मनाङ मर्स्याङ्दी, थ्री स्टार, संकटा, भ्याली, च्यासल युथ क्लब, विभागीय टीम नेपाल पुलिस, नेपाल एपिएफ क्लबले सहभागीता जनाउने भएका छन्। त्यसैगरी गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, काकरभित्ता टेनिङ सेन्टर झापा, मोरङ ११ स्पोर्टस क्लबले पनि भाग लिने आवेदन दिइसकेको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष हमालले बताए। विदेश क्लबमा भने एक भारतको र एक क्यामरुनको आउने भएको छ।

भारतको दिल्ली एफसी र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब आउने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सचिब ओम बिक्रम चन्दले बताए। प्रतियोगितामा साबिक विजेता नेपाल आर्मीको टोलीलाई भने सहभागि गराइएको छैन।  गत वर्ष सिमरामा भएको प्रतियोगितामा सुदूरपश्चिम ११ का खेलाडीहरूलाई हातपात गरेपछि आर्मीलाई सहभागी नगराउने क्लबले निर्णय गरेको थियो। सोहीअनुसार आर्मीलाई सहभागि नगराउने निर्णय भएको क्लबका अध्यक्ष हमालले बताए। दोस्रो संस्करणमा नेपाल आर्मीले उपाधी चुमेको थियो भने पहिले संस्करणमा मनाङ मर्स्याङ्दी विजयी भयो। विगतमा भन्दा तेस्रो संस्करणमा पुरस्कार राशि पनि बढाएको आयोजकले जनाएको छ। यसपटक विजेताले नगद २१ लाख  र उपविजेताले नगद १० लाख हात पार्ने छन्।

उत्कृष्ट खेलाडीले मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट विधाका खेलाडीले जनही १५/१५ हजार पाउने आयोजकले जनाएको छ। प्रतियोगिता धनगढीमा पुस २४ गतेदेखि सुरु भएर माघ ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा भने आयोजक सुप–११ स्पोर्टस क्लब र झाडाको मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्नेछन्।

सहभागी १२ टीमलाई ६/६ वटा गरेर दुई समूहमा विभाजन गरिएकोमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम चरणका खेलहरूको खेल तालिका सार्वजनिक हुन बाँकी रहेकाले टाइसिट भने सार्वजनिक गरिएको छैन्। प्रतियोगिता अवलोकनका लागि टिकट दरसमेत तोकिएको छ। क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाइनल र फाइनलका लागि एक सय ५० र दुई सय रुपैयाँ तोकिएको छ।

प्रकाशित मितिः बिहिबार, पुस १९, २०७५     11:53:32 PM  |

प्रतिक्रया दिनुहोस्