23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

बर्दियाका ७ वटा शैक्षिक संस्थामा अखिल (क्रान्तिकारी) को संगठन विस्तार

    | प्रकाशित मितिः शुक्रबार, पुस २०, २०७५  

बर्दिया । देशव्यापी रूपमा संगठन विस्तारको अभियानमा जुटेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले भेरी ब्यूरो अन्तर्गत बर्दियाका सातवटा शैक्षिक संस्थाहरुमा संगठन निर्माण गरेको छ ।
अखिल क्रान्तिकारीका बर्दिया जिल्ला अध्यक्ष लोकेशराज जोशीका अनुसार गुलरिया  नगरपालिकास्थित बङ्गलामुखी राधा कृष्ण उ.मा.वि. मा स्मृति चौधरीको नेतृत्वमा १९ सदस्यीय, गुराँस उमावि मधुबन नगरपालिकामा अर्जुन बस्नेतको नेतृत्वमा ३३ सदस्यीय, अमर सहिद दशरथ उमावि राजापुरमामा विवेक खत्रीको  नेतृत्वमा ३७ सदस्यीय कमिटी गठन गरिएको छ ।

यसैगरी मानपुर उमावि टपरामा निशा चौधरीको नेतृत्वमा ५७ सदस्यीय,नेपाल राष्ट्रिय माबी गोडियाना राजापुरमा आशिष थारुको नेतृत्वमा १९ सदस्यीय,भृकुटी मावि मधुबनमा तेज बहादुरको नेतृत्वमा २३सदस्यीय र नेपाल राष्ट्रिय नमुना उमावि ढोढरीमा दर्शन बिकको नेतृत्वमा २१ सदस्यीय इकाई कमिटी गठन गरिएको जनाएको छ ।

देशमा नक्कली कम्युनिष्टहरुको बिगबिगी बढिरहेको बेला कम्युनिस्टहरुको पहिचान र विद्यार्थी सङ्गठनलाई मजुबुत गराउने उद्देश्यले देशव्यापी रूपमा संगठन विस्तारको अभियान अन्तर्गत बर्दियामा पनि यो अभियान चलिरहेको जोशीले  जानकारी दिए ।

अभियानको क्रममा पर्चा पम्प्लेट वितरण,शैक्षिक माफियाहरुको भण्डाफोर गर्ने , सम्पुर्ण शैक्षिक संस्थाहरुमा सङ्गठन निर्माण गर्ने , सरकारी शैक्षिक संस्थाहरुमा सरसफाइसहित अन्य अतिरिक्त क्रियाकलाप गर्ने कार्यक्रम भैरहेको जनाएको  छ ।

मंसिर १८ देखि सुरु भएको यो अभियान फागुन १८ सम्म देशव्यापी रुपमा जारी रहने अखिल क्रान्तिकारीले जनाएको छ।

प्रकाशित मितिः शुक्रबार, पुस २०, २०७५     10:26:05 PM  |

प्रतिक्रया दिनुहोस्