14 June 2019  |   शुक्रबार, जेष्ठ ३१, २०७६

पार्टीगत राजनीतिको स्वार्थ लिप्तले राष्ट्र र राष्ट्रियता खतरामा !

    | प्रकाशित मितिः मङ्लबार, पुस २४, २०७५  

सोम विक्रम सिंह

अदुर्दरशिता,अनियमितता ,असक्षमता,अकर्मण्यता,अहमता ,अन्याय, अत्याचार,अवसरवाद ,असुरक्षा ,अपराधी गतिविधि ,अविश्वास,अनुशासनहिनता,अनुभवहिनता, अव्यबस्थित शासक तथा माटो बिपरित शासन प्रणालीले गर्दा आज राष्ट्र गन्जागोल अवस्थामा छ ।भ्रष्टाचार,बलात्कार, छिमेकीको बल तथा भुमि मिचाईले देश अक्रान्त छ । ठुलाठुला नितिगत भ्रष्टाचार , कमिशनखोरको जालो र अपराध तथा सांगठित अपराधिक गतिविधिले देश जलनमा छ । तेलको भाउ बढ्ता बुरूक बुरूक उफ्रिने अनेरास्ववियु अहिले कम्युनिस्ट सरकारले नै तेलको भाउ दिनहु बढाउँदा किन चुप भनेर कराउने नेबिसंघ आज राष्ट्रिय ध्वजाबाहक बोईङ काण्डमा किन तै चुप मै चुप छ ।

हुन त लाउडा,धमिजा तथा चेज काण्डमा मुछिएको काँग्रेस चुप लागेर बस्नु त्यति रहस्यमय छैन । यिनलाई नि थाहा छ नितीगत भ्रष्टाचार नगरि पार्टि चल्दैन भन्ने । यता झण्डै खरबको कर छलिमा पार्टिलाई पोस्दै आएको एनसेलले विप्लपलाई नि थामथाम थुमथुम गरेर राखेको छ भन्ने शंका उव्जदै छ । खोइ रिपिटर टावर किन पड्किन छोडेको हो भन्ने प्रश्न नै एनसेल प्रयोग गर्ने जनमानस गर्दैछन् । कानुनले समातेर पनि विभिन्न बहानामा न्यायले धरौतीमा सर्लक्क छोडेको भ्रष्टाचारीहरू अहिले नम्बर वान राष्ट्र सेवक भएको यो देशमा प्रेम सञ्जाल जस्ता भ्रष्टाचार विरोधी राष्ट्र सेवक लखटिन्छन् । धन्न एउटा खाईलाग्दो मोटो घाटो बोको गोपाल खड्का जालमा पर्यो भनेर न्यायलय दङ्ग पर्दैछ होला । यो देशमा जति मालदार माछा पर्यो त्यति नै न्यायलय देखि पार्टीका नेताको खुसिको सिमा रहन्न । खसी बजारमा खसी सुम्सुमाउँदै भाउ तोक्या झैं मूल्य तय गर्न तम्सिन्छन् कसैंहरू ।

जो ब्यक्ति राष्ट्रबादीको पगरी गुथेका कारणले नै देशको उच्च ओहदा प्रधानमन्त्रीको तह सम्म पुगे । तर तिनै ब्यक्तिले नमक हरामी गर्दै देशको संस्कार,संस्कृती तथा धर्म नाश गर्दै तमाम बैदिक सनातनीको अास्थामा लात्ती बजार्ने कुकर्म गरे । कम्युनिस्ट सरकार प्रमुखले ” एशिया प्याशिफिक समिटको” नाममा डा. मुनका श्रीमती तथा धर्म परिवर्तनकारीलाई जिससको छोरीको उपमा दिने कार्यक्रममा सरकारलाई नै सम्मिलित गराई क्रिश्चियन धर्मलाई बढावा दिने काम गरे । जस बापत पुरस्कार स्वरूप आफुले एक करोडको धनराशि प्राप्त गरि मौलिक सभ्यता र राष्ट्रिय पहिचानलाई कुठाराघात गरे ।

हुनत क्रिश्चियनको नाममा पैसामा बिके मेरो छोरो भन्ने अारोप लागेका , बाबू – आमा तथा छोराको काज कृया नगर्ने तथा हिन्दु धर्म प्रति आस्थावान छुईन भनी घोषणा गर्ने जमातबाट हामीले के नै आशा गर्न सक्छौं ? ” नाच्न नजान्ने आगन टेढा ” भने झैं आफु केही गर्न नसक्ने अनि एक आपसमा हिलो छ्याप्ने काम बाहेक यो पार्टीगत राजनितीमा केही देख्न पाईएन । यसो सम्झिंदा राजसंस्थाका सदस्यले पो अहिलेको स्थितीलाई औलाउँदै तथा खिसि गर्दै ” देखिस हामीलाई गलहत्ताएर देशमा केके न गर्छु भन्थ्यौ , गर्यौ त ? ” भन्ने प्रश्न माथि प्रश्न गर्नपर्ने । उल्टै आफै केही लछारपटार नगर्ने उल्टै राजा समान्य नागरिकको हैसियतले जनताकोमा जाँदा भुत्भुताएर कहिले जेल हाल्छु भन्ने , कहिले संबैधानिक भएन भन्ने , कहिले हिंडडुल गर्न रोक लगाउन पर्छ भन्ने , कहिले किन हिंड्या भन्दै कुर्लने ? बिचरा चितवन भरतपुर वडा नं २२ बासी प्रचण्ड जिल्लाराम तथा ठण्डाराम पो परिएको देखियो त ।

लौ त भनेर चितवन २२ वडा बासिन्दा र बौध्द गुम्बाका संरक्षक बिमल सिंह तथा अध्यक्ष सुर्य गुरूङको विशेष निमन्त्रणामा युवराज पारसको जन्मदिन र संयोगले तमु ल्होसार परेकै दिन युवराजलाई भोज ग्रहण गर्न र सांस्कृतिक कार्यक्रम नजर गर्न निम्ता दिए । वडा नं २२ जहाँ अध्यक्ष कम्युनिष्ट पार्टिका , प्रादेशिक दुबै सांसद कम्युनिस्ट पार्टिका , मेयर रेणु दाहाल कम्युनिस्ट पार्टीका , केन्द्रीय सांसद प्रचण्ड दाहाल कम्युनिस्ट पार्टिका भएको स्थानमा युवराज पारसको भव्य स्वागत तथा सभ्य अातिथ्य देख्दा साँच्चिकै जनतामा राजसंस्था प्रति एकदमै आस्था छ भन्ने देखिन्छ । पार्टीका नेता तथा कार्यकर्ताहरू हो व्यर्थमा नच्याठिउ , किन अरूलाई सराप्दै आफुलाई निच देखाउँछौ ?

प्रचण्डको ससुरालीको छिमेकि स्थानीय कम्युनिष्ट नेतृ तथा गुरूमा चौधरीले अकस्मात युवराजको पारसको गाडी रोक्न लगाई आफ्नो आगनमा दुई बृद्वालाई भेटाई र सेल्फि खिच्न भ्याए । बिचार र आस्था भन्ने कुरा त्यस्तै हो आफ्नो आगनमा युवराज पारसले पवित्र पाउ राखेकोमा आभार तथा धन्यवाद व्यक्त गरेको दृ‌श्यले के संकेत गर्छ त ?

युवराज पारस चितवनमा जनतासँग भलाकुसारी गरिरहँदा उता राजा ज्ञानेन्द्रले पोखरामा अपार जनताको उर्लिदो भेलमा आफुलाई जनता सामु उभ्याईरहेका थिए । तसर्थ राजसंस्थालाई आफ्नो जनता सामु तथा देश दर्शनमा जान कसैले रोकतोक ल्याउने र अनाहकमा सत्तो सराप गर्दै गला फाड्न सट्टा खुरूखुरू जनताको समस्यालाई निराकरण गर्नमा ध्यान दिन सुझाव छ ।

यता पुषको जाडो महिनामा तीन राजा र एक राजकुमारको जन्म दिन परेकोले राजनितीक माहोल यसै पनि तातिने नै भयो । झन् माओवादीले शालिक भताभुङ्ग तथा तोडफोड गरिएका राष्ट्रिय एकता तथा राष्ट्रिय एकिकरणका सिपाही  पृथ्वीनारायण शाहका जन्मदिन यसै पुस २७ गते पर्ने हुनाले दलाल तथा बिदेशीको कठपुतली तथा हरामीहरूको निद हराम भएको छ । विदेशी नया बर्ष तथा क्रिस्मसको दिन बिदा दिने मौलिक सभ्यता तथा राष्ट्रिय पहिचान विरोधीहरूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा बिदा नदिने घोषणा गर्दा त झन् यसको महत्व ह्वात्त झन बढ्यो ।

विदेशी भुमीमा बस्ने प्रवासी नेपालीहरू जुर्मुराउदै झन् यसलाई भव्य रूपले मनाउनु पर्छ भन्ने बहस चलाए । मकाउका सोनु पन्तले झैँ अमेरिका, पोर्तुगल ,पोल्याण्ड , ईङ्गल्याण्ड , स्पेन , हङकङ , भारत तथा अन्य देशमा यसलाई पर्वको रूपमा भव्यताका साथ मनाउने निधो गरेका छन् । धन्न नेपाली सेनामा विदेशी दलालको केही घुषपैठ भईरहेता पनि सेनाको नेतृत्वको राष्ट्रप्रति लगाव तथा दायित्व भएका कारणले गर्दा नै धर्म संस्कृति , मौलिक सभ्यता तथा राष्ट्रिय पहिचान संरक्षण गर्न केही हद सम्म सफल भएको छ ।

प्रधान सेनापतीबाट अवकास पाउनु भन्दा र हालका प्रधानसेनापतिलाई पद हस्तान्तरण गर्नु भन्दा केही दिन अघि राजेन्द्र क्षत्री ज्युले सैनीक मुख्यालय जंगी अड्डामा राष्ट्रिय एकिकरणका सिपाहि पृथ्वीनारायण शाह जसले नेपाली सेनाको ५ वटा पल्टन निर्माण गरे उनका पुर्ण कदको सालीक स्थापना गरे ।नेपाली सेनाको प्रेरणाको स्रोत पृथ्वीनारायण शाहको दिव्य उपदेश र फोटो प्रत्येक गुल्म , गण , पृतनाको हरेक व्यारेकमा राखिएता पनि उनको सालिक राखिएको थिएन ।

पोहोर साल नेपाली सेनाले बाजागाजा सहित पृथ्वीनारायण शाहको सालिकमा फुलमाला तथा सलामी अर्पण गरिएको दृश्यले प्रत्येक राष्ट्रवादी था देशभक्त जनतालाई राष्ट्र जोगाउन उत्प्रेरित गरिएको थियो ,भलै यो देशमा पार्टिगत राजनितीले र विदेशी दलालको बर्चश्वले गर्दा देशको संवेदनशील भावनामा ठेस र चोट पुर्याउँदै आएको छ । सो समयमा अवकाशप्राप्त प्रधान सेनापती क्षत्रीले आफ्नो सामाजिक सञ्जाल मार्फत सन्देश दिंदै भनेका थिए ,शताब्दी पहिला बडामहाराजधिराजले हामीलाई सुम्पिबक्सेको राष्ट्रको संरक्षण र संबर्धन गर्न प्रतिज्ञा सम्पुर्ण नेपाली सेनाका सकल दर्जाले गर्दछौं । यस राष्ट्रवादी धारणा समस्त नेपाली सेनाले लिएको आभास हुन्छ यद्वपी नेपाली सेना पार्टिगत राजनितीले थिलोथिलो भएको छ र अप्ठ्यारो पोजिसनमा छ तथा सदैव राजनितीक एम्बुस छलेर हिंड्न पर्ने अवस्थामा नेपाली सेना गुज्रिरहेको छ ।

स्वतन्त्र न्यायलयको नाममा कार्यकर्ता भर्ति केन्द्र र भ्रष्टाचारको केन्द्र बिन्दु , लोकतान्त्रीकरणको नाममा नेपाल प्रहरी र शसस्त्र प्रहरी आफ्नो झोले बनाउन ,जनताको तन्त्रको नाममा पार्टिको लुटतन्त्र , जनताको मातहत र व्यबशाहीकरणको नाममा सेना भित्र घुषपैठ गर्ने प्रयत्न राष्ट्र बिखण्डनको अति डरलाग्दो भुमरीमा देश फस्दै छ । पुर्वमन्त्री तथा नैतिकवान व्यक्ति केशर बहादुर बिष्टको भनाइ सापटि लिने हो भने ज्यानमाराको धाकले मुलुक रहदैन , अत्यन्त संवेदनशील अवस्थामा देश डुब्न लागेको आभास हुँदैछ । बिगत केही समय अगाडी जनता देशमा शान्ति स्थापनाको हेतु बुद्व भगवानको आगमनको प्रतिक्षामा थिए भने हालको स्थितीलाई मध्य नजर गर्दै देश जोगाउन जनता जंग बहादुरको वा कुनै पनि डिक्डेटरको खोजी गर्दैछन् ।

समय अत्यन्त नाजुक अवस्थामा छ । हुनत रेशम चौधरी राष्ट्रवादी तथा देशभक्त छवि भएका मान्छे नै हुन् । उनी सद्भावना पार्टी प्रवेश हुँदा केही भलाकुसारी भएको थियो । उनको राष्ट्रियता प्रति ओतप्रेत भावना सुन्दा जो कोहि पनि नतमस्तक हुने नै गर्छन् । उनी मौलिक सभ्यता र राष्ट्रिय पहिचान प्रति सँधै सचेत रहने ब्यक्ति हुन् । तर जब टिकापुर घटना हुनु भन्दा पहिले मधेशका मसिहा भन्ने तीन नेताले पहाडीलाई घरबाट थुतेर भएपनि सिद्व्याउ भन्दै बीष बमन गरे त्यहि बखत मैले सम्पुर्ण सुदुरपश्चिम बासीलाई सचेत गर्दै ती तीन नेतालाई सामाजिक बहिस्कार गरौँ तथा तिनीहरूबाट सचेत हौँ भन्दै आव्हान गरेको हो ।

करिव एक हप्ता जस्तोमा टिकापुर घटना घट्यो र त्यसमा रेसम चौधरी लगायत तमाम थारू नेता मुछिए । यदि थारू नेताहरू यसमा दोषी भागिदार होईनन् भने तिनीहरूको दायित्व हो , निहत्था प्रहरी तथा  साना बालकका माथि बर्वर हत्याकाण्ड मचाउने खलनायक को हो भनेर सार्वजनिक गर्ने । किन भने यो घटना सुनियोजित थियो , त्यो मधेशका नेताहरूको टिकापुर घटना हुनूभन्दा केही दिन अगाडी भाषण मार्फत गरिएको अाव्हानले पनि पुष्टि गर्छ । तर किन सोझा थारूहरूलाई मधेसीले प्रयोग गरे यत्रो हत्याकाण्ड रच्न ?

थारू समुदाय असाध्य दयालु , मिलनसार , सोझा तथा राष्ट्रवादी छवि भएका जाति मध्येमा पर्छन् तर यसो भन्दैमा कानुनले नै दोषी करार भएका मित्र रेशम चौधरीको सांसद पदको लागि सपथ खुवाउनु के उचित थियो त ? के यो संबैधानिक नै हो त , यसले गर्दा देशको साख गिर्छ कि गिर्दैन ? यस्ता यावत कुराहरूले नै गर्दा पार्टि राजनिती हावी भएर देशलाई बदनामी तर्फ लगार्दैछ । यसले सुरक्षा निकायको साख गिराएको छ भने उनिहरूलाई निरीह पनि बनाएको छ । देशका सुरक्षा निकायको कुनै पनि अङ्गलाई हेर्ने हो भने अत्यास लागेर आउँछ ।

भर्खरै फ्रेन्च द्वारा शासित देश ग्यावन भन्ने अफ्रिकन राष्ट्रमा आफुलाई देशभक्त भन्न रूचाउने तर अपरिपक्व केही समूह जसले आफुलाई मिलिटरी भन्ने दावी गर्यो तिनले स्टेट कु गर्ने प्रयास पनि गरे । बोङ्गो परिवारको करिब ५० बर्षको शासनकालमा अमेरिकन सेनाको ८० जनाको जत्था ग्यावनमा उत्रिएको केही दिन पश्चात भएको कु मा बिश्वले पश्चिमाको हात पनि देखे । तेल र प्राकृतिक स्रोतको धनी राष्ट्र ग्यावनको चीनसँग घनिष्ठता बढ्ने बित्तिकै र राष्ट्रपति बोङ्गो स्वास्थ्य उपचार गर्न बिदेशमा रहेको बेलामा भएको कु केही धण्टामा मै नियन्त्रित पनि भयो भने पाँच जना मध्ये चार समातिए एक जना फरार भए भने दुई व्यक्ति हताहता भए । भलै जसले जे गरे पनि तथा जसो भए पनि यश प्रकारको कु को प्रतिक्षारत नेपालीहरू पनि छन् भन्ने दरिलो उदाहरण हाल आएर केही प्रख्यात बिश्लेशकहरूले नेपालमा डिक्टेटर उदाउने प्रबल सम्भावना देख्नु पनि हो ।

ज्योतिष देखि बिश्लेशक सम्मले देश भड्खेलोमा गएको र शनिले राज गरेको देख्नेले देशमा अत्याचारको चरम बिन्दु पुगे पछि बिप्लपको क्रान्ति देख्छ , कसैले डिक्टेटरको उदय देख्छ , कसैले नेपाली सेनाले राष्ट्र , राष्ट्रियताको लागि कु नगरेको देख्दा सेनालाई सरापी रहेको देख्छन् भने कसैले राजसंस्थाको उदय होस् भनी प्रार्थना गरिरहेका देख्छन् ।

देशको स्थिति ,पार्टीको स्वार्थरूपि राजनितीले अाज देशमा सच्चा शासक खोजेका छन् । जसले बडामहाराजधिराज पृथ्वीनारायण शाहले झैँ दुर्दर्शिता र राज्यलाई बिचारले , संस्कारले , भुगोलले , बर्गले, क्षेत्रले एकीकृत गरि राज्यलाई एक बनाई शान्ति पुर्वक बाच्ने स्थल तथा बिकासन्मुख राष्ट्र स्वर्गीय राजा वीरेन्द्रको सपना झैँ , राष्ट्रियताले ओतप्रेत गराई स्वर्गीय राजा महेन्द्रको त्याग झैं तथा त्यागी , ईमान्दार र सहनशीलता भएका राजा ज्ञानेन्द्र व्यबहार झैँ भएका एउटा साझा संस्था खोजेका छन् । जसमा जनता धुर्विकृत हुन पर्दैन , जनताको साझा संस्था हुनेछ , जसले वैदिक सनातन धर्म तथा संस्कृती , मौलिक सभ्यता , राष्ट्रिय पहिचान , राष्ट्र , राष्ट्रियता देशको स्वाधीनता तथा जनताको स्वाभिमानलाई रक्षा गर्छ , सुरक्षा गर्छ , सम्वर्धन गर्छ  हो त्यसको खोजीमा जनता छ ।

जनता सजक छन् , जागरुक छन् तसर्थ त दलाल तथा विदेशीको कठपुतली सरकारले कटौती गरेको राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको जन्म जयन्ती धुमधामको साथ मनाउने योजना बनाउँदै छन् । राष्ट्रघाती , देशद्रोही र बिखण्डनकारी लखेट्ने योजना बनाउँदै देशमा राष्ट्रबादीको शासन होस् भन्दै देशमा स्टेट कु होस् भनी प्रार्थना गर्दैछन् ।

नेपाल एकिकरणको नायक ,नेपाली सेनाको संस्थापक राष्ट्र नायक तथा सिपाही वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्पूर्ण नेपाली जनमा हार्दिक मंगलमय शुभकामना । राष्ट्र नायक बडामहाराजधिराज पृथ्वीनारायण शाह तथा नेपाल एकिकरणका सम्पुर्ण ज्ञात अज्ञात सिपाही अमर रहुन् तथा श्रद्वेय जनहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

प्रकाशित मितिः मङ्लबार, पुस २४, २०७५     9:51:21 PM  |

प्रतिक्रया दिनुहोस्