19 January 2019  |   शनिबार, माघ ५, २०७५

यसरी मनाइयो २९७औ पृथ्वी जयन्ती, तस्बिरमा हेर्नुहोस्

    | प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५  

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले २ सय ९७ औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा त्यहाँ रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । त्यस अवसरमा उनलाई नेपाली सेनाले सलामी समेत अपर्ण गरेको थियो ।

सो समारोहमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् बताउँछन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि उनीप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

यसअघि ठकुरी सेवा समाज, गे्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपाललगायतका सङ्घसंस्थाको बाजागाजासहितको -यालीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेको थियो । समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराइएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो ।

यसैबीच, समारोहमा सहभागी भएका सर्वसाधारणहरुले पृथ्वीनारायण शाहकै योगदानका कारण नेपाली भएर रहन पाएकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन् । उनीहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म दिनमा सार्वजनिक विदा नदिएकोमा सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको प्रशासनिक कौशलतालाई ग्रहण गरेर अघि बढन नेताहरुलाई सर्वसाधारणको सुझाव छ ।

प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५     5:55:57 PM  |

प्रतिक्रया दिनुहोस्