बिमानस्थल सञ्चालनमा नआउदा पर्यटन व्यबसायी मर्कामा ।

कञ्चनपुर, १५ असोज ।

करिब दुई दशकदेखि बन्द रहेको कंचनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा त्यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी मारमा परेका छन् ।

विमानस्थल सुचारु नहुँदा यहाँका महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन् । हवाईसेवा बन्द हुँदा यहाँ विदेशी पर्यटक आउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरेको विमानस्थलका भौतिक संरचना जीर्ण भएका छन् । हवाईमैदान स्थानीय बासिन्दाको गाईगोरु चराउने क्षेत्र बनेको छ ।

पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाईसेवा महत्वपूर्ण भएकाले विमानस्थल सुचारु गर्न पटकपटक आग्रह गर्दा पनि सरकारले सुनवाइ नगरेको पर्यटन व्यवसायी परमानन्द भण्डारी बताउनुहुन्छ ।

हवाईसेवा नहुँदा यहाँका पर्यटन व्यवसायीले लगानी गर्न नसकेका उहाँको भनाइ छ । हवाई यातायातको व्यवस्था नहुँदा यहाँ घुम्न आउने पर्यटकको संख्या नगन्य मात्रामा रहने गरेको छ ।  पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाई यातायात महत्वपूर्ण भएकाले बन्द विमानस्थल सुचारु गर्न सम्बन्धित निकायले चासो राख्नुपर्नेमा यहाँका पर्यटन व्यवसायीले जोड दिएका छन् ।

विसं २०२५ मा निर्माण गरिएको सो विमानस्थल २०५५ सालदेखि बन्द छ ।

 

प्रतिक्रया दिनुहोस्