पेरिसबाट अमेरीकाको लस लन्जेलस उडेको एअरबस दुर्घटनाबाट जोगियो ।

काठमाडौं,१५ असोज।
फ्रान्सको पेरिसबाट अमेरिकाको लस लन्जेलसका लागि उडेको एअर फ्रान्सको एअरबस ए थ्री–एट्टी विमानको इन्जिनमा खराबी आएपनि दुर्घटनाबाट जोगिएको छ ।

चार इन्जिन मध्ये विमानको एउटा इन्जिन एटलान्टिक महासागरको बीचमा रहेको पश्चिमी ग्रीनल्याण्डको आकाशमा पुग्दा बिग्रिएको थियो । तीन वटा इन्जिन चलेको अवस्थामा विमान क्यानडाको गोस वे विमानस्थलमा अवतरण गरिनुअघि करिब एक घण्टा उडेको थियो ।

४ सय ९६ यात्रु र २४ जना चालक दलका सदस्य रहेको विमानमा सबै सकुशल रहेको एअर फ्रान्सका प्रवक्ताले जनाएका छन् । उडिरहेको विमानमा अचानक ठूलो आवाज आएपछि यात्रु त्रसित बनेका थिए । एअर फ्रान्सले विमानको एउटा इन्जिनमा गम्भीर क्षति पुगेको पुष्टि गरेको छ ।

गोस वे विमानस्थल एअर बस ए थ्री एट्टीका लागि प्रविधियुक्त नभएकाले विमानमा फसेका यात्रुलाई लिन एअर फ्रान्सको ट्रिपल सेभेन विमानहरु मोन्ट्रियलबाट पठाइएको जनाइएको छ ।(एजेन्सी/इमेज)

 

प्रतिक्रया दिनुहोस्