प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले स्वास्थ्य अधिकार वर्ष पुस्तिका प्रकाशन गर्ने ।

कैलाली, १८ असोज ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले स्वास्थ्य अधिकार वर्ष पुस्तिका प्रकाशन गर्ने भएको छ।

स्रोत केन्द्रले ५८ वटा जिल्लामा सरकारले प्रदान गर्दै आएको निःशुल्क स्वास्थ्य सेवा र आमा सुरक्षा कार्यक्रम लागू भए/नभएको अध्ययन गरी वर्ष पुस्तिका प्रकाशन गरिने जनाइएको छ।

केन्द्रले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका सञ्चार अधिकृत पूर्ण दुलालले वर्ष पुस्तिका तयारीका लागि कैलालीसहित ५८ वटा जिल्लामा अध्ययन सुरु भइसकेको बताए।

सूचना अधिकृत दुलालले स्वास्थ्य उपचारका क्रममा स्वास्थ्य संस्थाले गरेका कामको अभिलेख, स्वास्थ्यकर्मीले गरेका दुव्र्यवहार र स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार लगायतका स्वास्थ्य सम्बन्धी सम्पूर्ण अभिलेखको सँगालोका रुपमा हरेक वर्षको वैशाखमा स्वास्थ्य अधिकार वर्ष पुस्तिका प्रकाशन हुने बताए।

वर्ष पुस्तिकाको तयारीका लागि स्रोत केन्द्रले ५८ वटै जिल्लामा प्रतिनिधि खटाएको उनले बताए। स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सरकारले विभिन्न नीति र कार्यक्रम ल्याए पनि व्यावहारिक रुपमा सर्वसाधारणले ती सेवासुविधा पाउन सकेका छन् वा छैनन् भन्नेबारे सो पुस्तिकाले स्पष्ट गर्ने दुलालले दाबी गरे।

वर्ष दिनभरिका स्वास्थ्य अधिकार हननका घटनालाई समेटेर तयार पारिने वर्ष पुस्तिकाले संविधानले तोकेका स्वास्थ्य अधिकारलाई नागरिकले व्यावहारिक रुपमा प्राप्त गर्न मद्दत पुर्‍याउने उनले विश्वास व्यक्त गरे।

२०४५ सालमा स्थापना भएको केन्द्रले सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ काम गर्दै आएको छ। संस्थाले सामुदायिक, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वास्थ्यसँग सम्बन्धित सवालमा बहस चलाउँदै आएको छ।

स्वास्थ्य क्षेत्रमा पहुँच, गुणस्तरीयता, उपलब्धता, स्वास्थ्य प्रणाली सुदृढीकरण (औषधि उपकरण, जनशक्ति, सूचना, भौतिक पूर्वाधार र संरचना) र सर्ने तथा नसर्ने रोग मूल समस्याका रुपमा रहेका छन्।

एकातिर सहस्राब्दी विकासका लक्ष्यहरु (एमडिजी) अझै पूरा भएको छैन भने अर्कोतिर दीगो विकास लक्ष्य (एसडिजी) पूरा गर्ने नयाँ जिम्मेवारी सरकारको काँधमा रहेको केन्द्रका सञ्चार अफिसर दुलालको भनाइ छ।

 

प्रतिक्रया दिनुहोस्