30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

ताजकिस्तानसँग हुने खेलका लागि नेपाली टोलीको घोषणा ।

    | प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

काठमाडौ, १८ असोज ।
एसिया कप फुटबलको छनौटमा ताजकिस्तानसँग हुने खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो मंगलबार ताजकिस्तानसँग उसैको घरेलु मैदानमा हुने खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको हो । गोलकिपर विशाल श्रेष्ठको ठाउँमा एलन न्यौपाने टोलीमा परेका छन् । यस्तै राजेन्द्र रावललाई पनि टिममा समावेश गरिएको छ । यस्तै, यसअघि टिममा परेका सुमन लामाले यसपटक मौका पाएनन् ।

नेपाली टोलीको गोलकिपरमा एलन न्यौपानेसहित, किरण चेमजोङ र विकेश कुथु छन् । यस्तै, डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावल छन् । यसै गरी मिडफिल्डमा सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ छन् ।

यस्तै, फरवार्डमा विमल घर्ति मगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्ट छन् । छनौटको समूह एफमा रहेको नेपाल १ अंकसहित पुछारमा छ । फिलिपिन्स ७ अंकसहित शीर्ष स्थानमा छ ।

यमनको ५ अंक छ भने एक महिनाअघि एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई हराउँदै ताजकिस्तानले ३ अंक जोडेको थियो । यो समूहको शीर्ष २ मा हुने टोलीले सन् २०१९ मा हुने एसिया कप फुटबल खेल्न पाउने छन् ।

 

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     5:31:39 PM  |

प्रतिक्रया दिनुहोस्