पुनर्निर्माण प्राधिकरणका सिइओलाई प्यूठान छोड्न निर्वाचन आयोगले दियो निर्देशन ।

काठमाडौं, १९ असोज ।
निर्वाचन आयोगले राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी अधिकृत प्रा.डा.गोविन्दराज पोखरेललाई प्यूठान जिल्ला छोड्न निर्देशन दिएको छ ।

पोखरेल प्यूठान जिल्लाका विभिन्न स्थानहरुमा नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट एवं पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुँदा पोखरेललाई तुरुन्त प्यूठान जिल्ला छाड्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको हो ।

पोखरेललाई तत्काल प्यूठान जिल्ला छोड्ने व्यवस्था मिलाउन प्युठानका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

आयोगले पोख्रेललाई विभिन्न स्थानमा नेपाली काङग्रेसका कार्यकतासँग भेटघाट गरी पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको देखिएको भन्दै २४ घन्टाभित्र स्पष्टीकरण पेशगर्न निर्देशन समेत दिएको छ ।

चुनावी प्रचारमा प्राधिकरणको स्रोत दुरुपयोग

यसैबीच, सीईओ पोखरेलले चुनावी प्रचारमा प्राधिकरणको स्रोत साधन दुरुपयोग गरेको बताउँदै प्यूठानस्थित विभिन्न राजनीतिक दलले आपत्ति जनाएका छन् । जिल्लामा क्रियाशील विभिन्न चार राजनीतिक दलले बिहीबार प्रेस विज्ञप्ति नै जारी गरेर सीईओको चुनावी प्रचार रोक्न सरकारसँग माग गरेका छन् ।

जिल्लास्थित एमाले, माओवादी केन्द्र, माले र नयाँशक्ति पार्टीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पोखरेलले पदको दुरुपयोग गरी आफ्नो चुनावी प्रचारमा सरकारी साधन स्रोतको परिचालन गरेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

‘नेपाल सरकारबाट नियक्त भएका सीईओले आफ्नो पदको व्यापक दुरुपयोग र मर्यादालाई त्यागेर गरिएको कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षणमात्रै होइन, उक्त गतिविधिको भत्सर्नासमेत गर्छाैं,’ ती दलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

निर्वाचन आचारसंहिता विपरित सरकारी साधन, स्रोत र पदको दुरुपयोग गरेर गरिएका कार्य तुरुन्त रोक्न ती दलले सरकारलाई आग्रह गरेका छन् । ‘यदि यो विषयलाई गम्भीरतापूर्वक नलिएमा उत्पन्न हुने जस्तोसुकै परिणामको जिम्मेवारी सम्बन्धित पक्ष नै हुनेछ,’ विज्ञप्तीमा उल्लेख छ ।

सीईओ पोखरेलले भने आफू चुनावी प्रचारमा क्रियाशील नभएको दाबी गरे । आफ्नो ख्यातिको डरले अनर्गल प्रचार गरिएको उनले बताए ।

 

प्रतिक्रया दिनुहोस्