कैलालीका डुबानग्रस्त क्षेत्रका लागि मोटरबोट हस्तान्तरण ।

कैलाली , २० असोज ।
कैलालीमा वर्षेनी डुबानमा पर्ने क्षेत्रमा हुने धनजनको क्षति न्यूनीकरण, उद्धार तथा राहतका लागि रबरको मोटरबोट हस्तान्तरण गरिएको छ ।

केयर नेपालको हरियो वन कार्यक्रममार्फत प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिलाई आज धनगढीमा एकपटकमा बाह्रजना सम्मको उद्धार गर्न सकिने अत्याधुनिक रबरबोट हस्तान्तरण गरिएको हो ।

उक्त रवरबोट कैलालीका प्रजिअ गोविन्द रिजाललाई हस्तान्तरण गरिएको हरियो वन कार्यक्रमका कार्यक्रम संयोजक देवराज गौतमले जानकारी दिनुभयो । जिल्लामा वर्षेनी बाढी र डुबानका कारण ठूलोमात्रामा हुने धनजनको क्षति न्यूनीकरण र उद्धारमा हुने कठिनाइलाई मध्यनजर गर्दै रु १० लाखभन्दा बढी मूल्यको एउटा मोटरबोट, लाइफ ज्याकेट लगायतका सामग्री हस्तान्तरण भएपछि बाढीपीडितको उद्धारमा सहज हुने उहाँको भनाइ छ ।

सो रबरबोट वर्षेनी बाढी र डुबानबाट अति प्रभावित हँुदै आएका कैलालीका दक्षिणी क्षेत्रमा बाढीबाट हुने क्षति न्यू्नीकरण र उद्धारका लागि उपयोगी हुनेछ । राहत तथा उद्धारका लागि थप रबरबोटको समेत आवश्यकता रहेको र त्यसका लागि आवश्यक पहल भइरहेको केयर नेपालले जनाएको छ ।

तराई क्षेत्रमा वर्षेनी बाढी र डुबानका कारण ठूलोमात्रामा धनजनको क्षति हुने गरेको छ । सो परियोजनाले आफ्नो दोस्रोचरणको कार्यक्रमअन्तर्गत दिगो विकासमा प्राकृतिक स्रोतको व्यवस्थापन र विपद् व्यवस्थापनका आवश्यक तयारीलाई प्राथमिकतामा राखेको जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्