जाजरकोटमा रवीन्द्र शाह विकास पत्रकारिता पुरस्कार स्थापना ।

जाजरकोट,२१ असोज ।
जाजरकोटमा गत वर्षको चैत १५ गते खलंगा, तल्लो थाप्लेमा निर्भमतापूर्वक हत्या गरिएका नेपाली कांग्रेसका स्थानीय नेता स्व. रवीन्द्रशमशेर शाहको नाममा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।

नेपाल प्रेस युनियन जाजरकोटले आज खलंगामा एक औपचारिक कार्यक्रमको आयोजना गरी पाँच हजार रुपैयाँ राशीको रवीन्द्र शाह स्मृति विकास पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको हो । रवीन्द्र प्रेस युनियन जाजरकोटका संस्थापक सदस्यसमेत थिए ।

प्रत्येक वर्ष जिल्लाको विकासका विषयमा कलम चलाउने एकजना सक्रिय पत्रकारलाई सो पुरस्कार प्रदान गरिने प्रेस युनियन जाजरकोटका अध्यक्ष जनक केसीले बताए । उनले अक्षयकोष बढाएर प्रदेशस्तरमा पनि पुरस्कार प्रदान गरिने घोषणासमेत गरे ।

कार्यक्रममा अक्षयकोष स्थापनाका लागि रवीन्द्रका बुवा योगशमशेर शाहले नगद एक लाख रुपैयाँ प्रेस युनियन जाजरकोटलाई हस्तान्तरण गरेका थिए । यस्तै, प्रेस युनियन जाजरकोटका अध्यक्ष केसीले पाँच हजार रुपैयाँ सहयोग गरेका थिए । (इमेज च्यानल)

प्रतिक्रया दिनुहोस्