धनगढी प्रिमियर लिगको दोस्रो संस्करण आगामी माघ ५ गतेदेखि सुरु हुने ।

काठमाडौ, २२ असोज ।

कैलालीको धनगढीमा सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको दोस्रो संस्करण आगामी माघ ५ गतेदेखि सुरु हुने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले अक्सनमा आधारित राष्ट्रिय टी-२० प्रतियोगिता धनगढी प्रिमियर लिग डीपीएलको दोस्रो संस्करणको आयोजना मिति सार्वजनिक गरेको हो । प्रतियोगिताको बिजेताले २५ लाख पुरस्कार पाउनेछ । पुरस्कार राशी पहिलो संस्करणभन्दा १० लाख बढाइएको हो ।

प्रतियोगिताको उपबिजेताले १० लाख तथा तेस्रो र चौथो हुने टोलीले क्रमसः ३ र २ लाख पुरस्कार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पुरस्कार पाउनेछन् । म्यान अफ द सिरिजले अपाचे मोटरसाइकल पुरस्कार पाउनेछन् । प्रतियोगिताको अनुमानित बजेट ३ करोड छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डीपीएल-२ मा बढीमा आठ टोलीको सहभागिता रहने पनि एकेडेमीले जानकारी दिएको छ । अघिल्लो संस्करणमा ६ टोलीको सहभागिता थियो ।

प्रतियोगितामा सहभागी टोलीको घोषणा र अक्सन मंसिरमा गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले धनगढी क्रिकेट एकेडेमीमा नाम दर्ता गर्नेछन् । दर्ता भएका खेलाडीलाई मात्र अक्सनमा समावेश गरिनेछ ।

प्रतियोगिताका खेलहरु धनगढीस्थित अञ्चल प्रहरी कार्यालयको मैदानमा हुनेछ । बैकल्पिक मैदानको रुपमा फाप्ला क्रिकेट मैदानलाई तयार गरिने छ । प्रतियोगितामा सहभागी सबै टिमबीच लिग खेल खेलाइनेछ भने लिगमा शीर्ष चार स्थानमा रहेका टोलीहरुबीच प्लेअफ खेलाइनेछ । प्लेअफमा शीर्ष दुई टिमबीचको बिजेता फाइनलमा पुग्नेछ । त्यस्तै पराजित टोलीले तेस्रो र चौथो टिमको बिजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रतियोगिता हेर्न लिग खेलका लागि ५०, प्लेअफका लागि ७० र फाइनलमा १०० टिकट दर तोकिएको छ ।

प्रतिक्रया दिनुहोस्