हङकङविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ ।

काठमाडौं, २३ असोज ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत् हङकङ विरुद्ध खेल्न जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुको बिदाइ गरे । नेपालले आगामी असोज २७ र २९ गते हङकङसँग उसैको भूमिमा दुईओटा एक दिवसीय खेल खेल्नेछ ।

विश्व क्रिकेट लिगको अंकतालिकामा ८ अंकका साथ नेपाल छैटौं स्थानमा छ भने ११ अंक जोडेको हङकङ पाँचौ स्थानमा छ । प्रतियोगिताको शीर्ष चार स्थानभित्र अटाउने टोलीले आगामी वर्ष बंगलादेशमा हुने एक दिवसीय विश्वकप क्रिकेट छनोटमा स्थान बनाउनुका साथै चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता पाउने बताइएको छ ।

अंकतालिकाको शीर्ष चारमा अटाउन नेपाललाई हङकङ र युएईसँग हुने बाँकी चारओटै खेल जित्नैपर्ने दबाब छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली भोलि मंगलबार हङकङ प्रस्थान गर्नेछ ।

 

प्रतिक्रया दिनुहोस्