आगामी चुनावको कमान्ड पार्टी अध्यक्ष ओलिले गर्ने एमालेको निर्णय ।

काठमाडौ, २४ असोज ।

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगामी मङ्सिरमा हुने निर्वाचनको कमाण्ड गर्नेगरी निर्वाचन परिचालन गर्ने भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरवारमा आज सम्पन्न स्थायी समिति बैठकले पार्टीका सबैजसो शीर्ष नेता प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार बन्ने निर्णय गरेको छ ।

मुख्य सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेता समानुपातिक तर्फबाट आफ्नो स्थान सुरक्षित गर्न लागिरहेका बेला एमालेका भने सबैजसो शीर्ष नेता प्रत्यक्ष निर्वाचनमै होमिन लागेका हुन् ।

निर्वाचन परिचालनको कमाण्ड सम्हाल्ने नेतालाई प्रत्यक्ष चुनावमा उम्मेदवार नबनाउने विषयमा छलफल भए पनि सबै शीर्ष नेता प्रत्यक्ष तर्फकै उम्मेदवार बन्ने र पार्टी अध्यक्ष ओलीले निर्वाचन परिचालनको कमाण्ड गर्ने निर्णय भएको एमालेले जनाएको छ । आजको स्थायी समितिको निर्णय अनुसार अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी समितिको गठन हुने एमाले श्रोतले बतायो ।

एमाले पार्टी अध्यक्ष ओली झापा– ५ बाट उम्मेदवार बन्ने तयारीमा छ्न । यसअघि सोही क्षेत्रबाट निर्वाचित ओलीको नाम सुनसरी र सिराहामा पनि सिफारिस भएको छ । वरिष्ठ नेता झलनाथ खनाल इलाम १, अर्का वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं २, उपाध्यक्ष बामदेव गौतम बर्दिया १ बाट उम्मेदवार बन्दै छ्न ।

उपाध्यक्ष भीम रावल अछाम १, अष्टलक्ष्मी शाक्य काठमाडौं ९, उपाध्यक्ष युवराज ज्ञवाली भने समानुपातिक तर्फबाट उम्मेदवार बन्ने सम्भावना देखिएको छ । महासचिव ईश्वर पोखरेल काठमाडौं ५, उपमहासचिव विष्णु पौडेल रुपन्देही ३, घनश्याम भुसाल रुपन्देही २, सचिव प्रदीप ज्ञवाली गुल्मी १, गोकर्ण बिष्ट गुल्मी २, पृथ्वी सुब्बा गुरुङ लमजुङ र योगेश भट्टराई ताप्लेजुङबाट उम्मेदवार बन्दै छ्न ।

यसैगरी सचिव भीम आचार्य भने सुनसरीबाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्दै छ्न । स्थायी समिति सदस्य शंकर पोखरेल दाङ २, सुरेन्द्र पाण्डे चितवन १ र छविलाल विश्वकर्मा रुपन्देही १ बाट उम्मेदवार बन्ने एमालेले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्