आईसीसी विश्व क्रिकेट लिग:नेपाल VS हङकङ भिड्दै, नेपाल गर या मरको अबस्थामा ।

काठमाडौ, २७ असोज ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत छैटौं चरणको खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा सुरु हुनेछ । हङकङको मिसन रोड ग्राउण्डमा हुने खेलमा नेपाल ‘गर या मर’को स्थितिमा छ । सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि पनि नेपाललाई च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने बाध्यता छ । त्यसैले नेपालको लागि हङकङ सँगको खेल निकै महत्वपूर्ण रहेको छ । अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जितनै पर्ने चुनौती छ ।

यसअघि केन्यासँगको खेलमा विरामी परी उपस्थित नभएका कप्तान पारस खड्काको नेतृत्वमा नेपालले हङकङसँग उसैको घरेलु मैदानमा महत्वपूर्ण जितको लागि प्रतिस्पर्धा गर्दैछ । यधपी आज शुक्रबार र पर्सि आइतबार हुने खेलमा ब्याट्सम्यान शरदले अस्वस्थताका कारण दुवै खेल खेल्न नपाउने नेपाली क्रिकेट टोलीका प्राविधिक विश्लेषक रमण शिवाकोटीले जानकारी दिए। उनका अनुसार शरदका स्थानमा नेपाली सेनाका खेलाडी नरेश बुढाऐरलाई बोलाइएको छ।

नेपालको वरिष्ठ टोलीले करिब एघार वर्षपछि हङकङमा क्रिकेट खेल्न लागेको हो। यसअघि नेपालले सन् २००४ र २००५ को एसिसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा हङकङमा गएर खेलेको थियो। अङ्क तालिकामा नेपाल छैटौँ र हङकङ पाँचौँ स्थानमा छन्।

जारी प्रतियोगितामा नेपालले हङकङलाई दुवै खेलमा पराजित गरेमा नेपाल शीर्ष चारभित्र पर्ने सम्भावनालाई बलियो बनाउनेछ। प्रतियोगितामा नेपालको आठ तथा हङकङको ११ अङ्क छन्।

 

प्रतिक्रया दिनुहोस्