विश्व बैंकको सम्मेलनमा भाग लिन गभर्नरसहितको टोली अमेरिकामा ।

काठमाडौ, २७ असोज ।
विश्व बैंक ग्रुपको बोर्ड अफ गभर्नर्स र मुद्राकोषको वार्षिक सम्मेलन आजदेखी अमेरीकामा सुरु हुदैछ । सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रबैंक र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन्।


सम्मेलनमा भाग लिन नेपालबाट गभर्नर डा चिरञ्जीवी नेपाल, अर्थसचिव डा शान्तकुमार सुवेदी, सहसचिव वैकुण्ठ अर्याल, राष्ट्र बैंकका निर्देशक नरबहादुर थापा लगायतको टोली अमेरिका पुगिसकेका छ्न । यस पटकको बैठकमा नेपालले पछिल्लोपटक हासिल गरेको आर्थिक वृद्धि र वित्तीय अवस्थाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तयारीमा रहेको नेपाली टोलीबाट प्रतिनिधित्व गर्नुहुने दूतावासका आर्थिक कन्सुलर कैलाश पोख्रेलले जानकारी दिए।

विश्व बैंकको आजको प्लेनरी सेसनमा यसका अध्यक्ष जिम योङ किम र अन्तर्राष्ट्रिय मुद्रा कोषका व्यवस्थापकीय निर्देशक क्रिष्टिना लेगार्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। विश्व बैंक र मुद्राकोषले वार्षिक अन्तर्राष्ट्रियस्तरका पूर्वाधार विकास, वित्तीय व्यवस्थापन, सरकारको खर्च प्रक्रिया, मानवीय स्वभावका परिवर्तन, स्वास्थ्य शिक्षा, सुशासन र दिगो आर्थिक क्रियाकलापको विषयमा विश्वभरका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको समेत सहभागितामा विभिन्न छलफल कार्यक्रम आयोजना गर्दछ।

सम्मेलनमा डिजिटल अर्थतन्त्र, प्राकृतिक विपत्तिपछिको आर्थिक समुन्नति, एसिया, युरोप र अन्य देशको सडक सञ्जाल, प्रविधि र प्रशासनको सहभागिता लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। महिलाको व्यवसायमा सहभागिता, बालबालिकाको अवस्था, शिक्षाको पहुँच लगायतको विषयमा समेत छलफल हुने जनाइएको छ। (विभिन्न अनलाइनको सहयोगमा)

 

प्रतिक्रया दिनुहोस्