आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग ८३ रनले पराजित ।

काठमाडौ, २७ असोज ।

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले हङकङसँग ८३ रनको पराजय ब्यहोरेको छ ।

हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल ३४.५ ओभरमा १ सय ११ रनमै अलआउट हुन पुग्यो । नेपाल्का ओपनर सागर पुन ३ रन र ज्ञानेन्द्र मल्ल २१ रनमा पेभेलियन फर्के। दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए। कप्तान पारस खड्का पनि २६ रन भन्दा बढी जोड्न सकेनन । आरिफ शेखले २३ रन तथा सोमपाल कामीले ११ रन जोडे। बसन्त रेग्मी र करण केसीले रनको खाता खोल्न सकेनन्। विनोद भन्डारीले पनि १८ रनमा आउट भएपछि नेपाल हार नजिक पुगेको थियो ।

हङकङका एइजाज खान ३ तथा इसान खानले ५ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ५० ओभरमा १ सय ९४ रनमा अलआउट भयो। नेपालका सन्दीप लामिछाने ३ विकेट लिए। बसन्त रेग्मी र करण केसीले २–२ विकेट हात पारे। सुसन भारीले १ विकेट लिन सफल भए।

हङकङका लागि जिमी एट्किनसनले सर्वाधिक ७६ रन बनाए। उनले ११७ बलमा ९ चौका र १ छक्का हिर्काए। उनलाई सुसनले एलबिडब्लुको धरापमा पारे। अन्त्यतिर उत्कृष्ट ब्याटिङ गरेका तनविर अजफलाई करणले पेभेलियनको बाटो देखाए।

करणले हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमान राथलाई शून्य रनमा आउट गरेका थिए। यस्तै कप्तान बाबर हायत २९ रनमा रनआउटको सिकार भए। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका हुन्। सन्दीपले निजाकत खानालाई १२ रनमा विनोद भण्डारीबाट स्टम्प आउट गराए। उनले साइद वासिफ र एइजाज खानलाई पनि आउट गरे। बसन्तले वाकात खानलाई १४ रन बनाएर खेलिरहँदा पेभेलियनको बाटो देखाए।

शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने लक्ष्य कायमै राख्न जित्नै पर्ने आजको खेलमा पराजित भएपछि नेपालको सन् २०१९ मा हुने विश्वकप छनोटको यात्रामा पनि नराम्रोसँग धक्का लागेको छ । यस पराजयले ए डिभिजनमा रहेको नेपाली क्रिकेट बी डिभिजनमा खस्किने खतरा पनि कायमै छ ।

विश्व च्याम्पियनसिपमा आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । ती सबै खेलमा जित हासिल गरेपनि नेपालले शीर्ष चारमा रहन अन्य खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रया दिनुहोस्