कामको ज्याला नदिएको झोकमा एक युवकले गरे छिमेकी दम्पतिको हत्या ।

दैलेख, ३० असोज ।
दैलेखमा आफुले गरेको कामको ज्याला नदिएको झोकमा एक युवकले छिमेकी दम्पतीको हत्या गरेका छन् ।

जिल्लाको भगवतीमाई गाउँपालिका–७ बडाभैरव लामातडाका ४० वर्षीय जयबहादुर सिहं र उअनकी पत्नी ३९ वर्षीया कमला सिंहको हत्या भएको हो ।

भगवतीमाई गाउँपालिका–७ बडाभैरव लामातडाका २१ वर्षीय खेमराज भन्ने मोहन खड्काले गएराति ती दम्पतीको हत्या गरेका हुन् । गएको हिउँदमा खेमराजलाई जयबहादुर सिंहले काममा लगाएका थिए । कामको ज्याला चैतमा दिन्छु भन्दै सिंहले टारेका थिए । चैतमा दिन्छु भनेको रकम अहिलेसम्म पनि नदिएपछि खेमराजले रिसको झोकमा दम्पतीको हत्या गरेको बुझिएको छ ।

दसैँंमा समेत पैंसा किन नदिएको भनेर सोध्दा दम्पती मिलेर आफूमाथि आक्रमण गर्न थालेको र आफ्नो ज्यान बचाउन आफूले उनीहरुकै हँसिया खोसेर प्रतिकार गर्दा ज्यान गएको खेमराजले बताएको प्रहरीले जनाएको छ ।

घटना आवेश प्रेरित देखिएको दैलेखका प्रहरी नायव उपरीक्षक सरोज पौडेलले बताउनुभयो । झगडा छुट्टयाउन गएका जयबहादुरका १५ वर्षीय छोरा दीपक सिंह गम्भीर घाइते भएका छन् । दीपकलाई राति नै दैलेख अस्पतालले प्रारम्भिक उपचारपछि कोहलपुर मेडिकल कलेजमा रेफर गरेको छ ।

 

प्रतिक्रया दिनुहोस्