टीकापुर जेसीजको सप्ताहब्यापी कार्यक्रम सम्पन्न, बेसहारा परिवारलाई राहत वितरण ।

लोकेन्द्र रावल टीकापुर,३० असोज
टीकापुर जेसीजको सप्ताहब्यापी कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

टीकापुर जेसीज वर्ष २०१७ का कार्यवाहक अध्यक्ष तपेन्द्र स्वाँरको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नं. १ का वडाअध्यक्ष गंगाराम आचार्य रहनु भएको थियो । प्रमुख अतिथि आचार्यले जेसीजले समाजका लागि उदाहरणीय काम गर्दै आईरहेकोले जेसीजको जति प्रशंसा गरे पनि नपुग्ने बताउनुभयो । उहाँले जेसीजमा सबैलाई समेट्नु पर्ने बताउनुभयो । आचार्यले  आफ्नो र वडा कार्यालयबाट जेसीजलाई चाहिने सहयोग सधैंव गरिरहने बताउनुभयो ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख बसन्त बोहरा, लम्की जेसीज २०१७ का अध्यक्ष जुगराम चौधरी, लाइन्स क्लब टीकापुरका पुर्व अध्यक्ष भीमराम चपाई, ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी टीकाबहादुर कार्की, टीकापुर जेसीजका पूर्व अध्यक्ष टेक नारायण पौडेल र जगदिश्वर पण्डित लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा साताब्यापी कार्यक्रममा जिम्मेवारीपूर्ण काम गरेको भन्दै संयोजकहरुलाई र टीकापुर सरसफाई अभियानका गुडीमुन्टे जोडी झलनाथ खनाल र राजेन्द्र विश्वकर्मालाई प्रमाण–पत्र प्रदान  गरिएको थियो ।

टीकापुर जेसीज वर्ष २०१७ का कार्यकारी उपाध्यक्ष सुरेश रिमाले स्वागत गर्नुभएको कार्यक्रममा महासचिव गणेश साउँदले कार्यक्रम संचालन गर्नुभएको थियो । जेसीजको सप्ताहब्यापी कार्यक्रम असोज २४ गतेदेखि शुरु भएको थियो । यसैगरी टीकापुर जेसीजले टीकापुर नगरपालिका वडा नम्बर २ राजीपुरमा दम्पत्तीको मृत्यु पछि बेसहारा बनेको परिवारलाई सोमवार नै राहत प्रदान गरेको छ ।

सप्ताहब्यापी कार्यक्रम अन्र्तगत बेसहारा परिवारका लागि जाडोयाममा लगाउने लुगा र १० हजार ५५ रुपैयाँ नगद प्रदान गरिएको राहत वितरण कार्यक्रमका संयोजक मंगल साउँदले जानकारी दिनुभयो । राहत रकम मध्ये प्रकाश डिजिटल फोटो स्टुडियोका सञ्चालक टोप प्रकाश विकले २ हजार र बाँकी रकम जेसीज पदाधिकारीले उपलब्ध गराएका थिए । बेसहारा परिवारको घरमै पुगेर जेसीजले राहत प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि टीकापुर जेसीजका पूर्वअध्यक्ष टेकनारायण पौडेलले राहत सामाग्री र नगद रकम मृतककी छोरी सितल परियारलाई प्रदान गर्नुभएको थियो । असोज ९ गते पति ३६ वर्षका हर्क परियार र असोज ११ गते पत्नी  सर परियारको दुःखद निधन भएको थियो । उनीहरुको निधन पछि पाँच छोराछोरी र वृद्ध आमाबुबा बेसहारा बनेका छन ।

 

प्रतिक्रया दिनुहोस्