यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइदै ।

काठमाडौँ, १ कार्तिक ।
हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अथार्त यमपञ्चकको दोस्रो दिन अन्तर्गत आज कुकुर तिहार मनाइदै छ ।

आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ ।  कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको छ ।

कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना दिने गर्दछ । कुकुरका गुणको कदर गरेर परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् ।

सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पौराणिक कथन छ । वैवस्वत मन्वन्तरका कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ ।

तत्कालीन सोभियत सङ्घले सन् १९५७ नोभेम्बर ३९विसं २०१४ कात्तिक१८ गते० मा ‘लाइका’ नामक कुकुरलाई अन्तरीक्षमा पठाएको थियो । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्या समेत बढ्न थालेको छ ।

आज बिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपसछ नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका समेत रहि आएको छ ।

यसरी बत्ती बालेर बगाउनालाई नरके बगाउने पनि भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर घरमा यम परिवार सङ्ख्या अनुसार यमदीप दान गरिन्छ । यी पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलन समेत छ ।

 

प्रतिक्रया दिनुहोस्