एनआरएनएका पदाधिकारीलाई ओलीको सुझाव एमालेका नाममा कसैलाई पैसा दिएको भए फिर्ता माग्नुहोस ।

काठमाडौं, १ कात्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग चुनावका बेला एमालेले पैसा नलिएको स्पस्ट पार्नु भएको छ ।

एनआरएनएको नवनिर्वाचित कार्यसमितिको स्वागतमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई एमाले अध्यक्ष ओलीले एमालेका नाममा कसैलाई पैसा दिएको भए फिर्ता माग्न समेत आग्रह गर्नुभयो ।

केही दिनअघि एक अनलाइनमा एमालेलाई एनआरएनएले ६ करोड रुपैयाँ दिएको भनी समाचार  प्रकाशित गरेको थियो । उक्त समाचार भ्रामक भएको भन्दै ओलीले त्यसको खन्डन समेत गर्नुभयो ।

उहाँले गौतमबुद्धको जन्मथलोबारेको विश्वमा रहेको भ्रम चिर्न एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई आग्रह गर्नुभयो । विभिन्न देशका पाठ्यपुस्तकमा समेत गौतम बुद्धको जन्मस्थल भारतमा रहेको उल्लेख भएकोले त्यसलाई सच्याउन भूमिका खेल्नुपर्ने ओलीको आग्रह थियो ।

गैरआवासीय नेपाली संघले साझा संस्थाको रुपमा काम गर्नुपर्ने सुझाव ओलीले दिनुभयो। त्यस्तै एनआरएनएले निर्माण, रोजगारी सिर्जना गर्ने, उत्पादनमूलक र राज्यको आयस्रोत बढाउने क्षेत्रमा लगानी गर्नुपर्ने ओलीको सुझाव थियो ।

 

प्रतिक्रया दिनुहोस्