आसन्न निर्वाचनमा परिचालन गर्न सुरक्षा परिषदको शिफारिस ।

काठमाडौं, १ कार्तिक ।
आगामी मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राष्ट्रिय सुरक्षा परिषदले सेना परिचालन गर्न सिफारिस गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको परिषद बैठकले यस्तो सिफारिस गरेको हो। रक्षामन्त्री भीमसेन दास प्रधानका अनुसार यसअघि स्थानीय तहमा परिचालन भएझैं सेनाले सुरक्षाको तेस्रो घेरा सम्हाल्नेछ। स्थानीय तहको तीन चरणको निर्वाचनमाझैं पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल र तेस्रोमा नेपाली सेना परिचालन हुनेछ ।

यसका साथै सेनाले आवश्यक गस्ती र मतपेटिका सुरक्षित स्थानमा पुर्याउने काम गर्नेछ।’ परिषदको सिफारिसलाई आगामी कात्तिक ६ गते बस्ने मन्त्रिपरिषद बैठकबाट निर्णय गराई अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ।

‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, वाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने संविधानको धारा २६७ को नेपाली सेनासम्बन्धी व्यवस्थाको उपधारा ६ मा उल्लेख छ।

उपधारा ६ कै व्यवस्था अनुरुप नेपाली सेना परिचालनलाई घोषणा भएको मितिले एक महिनाभित्र प्रतिनिधिसभाबाट अनुमोदन गर्नुपर्नेछ। प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा रक्षा, गृह, अर्थ र परराष्ट्रमन्त्री सदस्य छन्।

प्रतिक्रया दिनुहोस्