जेलबाटै राजपामा प्रवेश गरे टीकापुर घटनाका आरोपी लक्ष्मण थारु ।

कैलाली, २ कार्तिक ।

दुई बर्षअघि थरुहट आन्दोलनका क्रममा टीकापुरमा भएको हिंसात्मक घटनामा ८ जना सुरक्षाकर्मी र एक बालक गरि ९ जनाको हत्या भएको आरोपमा जेल जीवन विताइरहेका लक्ष्मण थारुसहित ३ जना राजपा पार्टीमा प्रवेश गरेका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलाली कारागारमै पुगेर लक्ष्मण थारु, विर बहादुर चौधरी र विश्राम चौधरीलाई आज पार्टी प्रवेश गराएका हुन् । माओवादी पूर्वलडाकू लक्ष्मण थारुले फोरम लोकतान्त्रिकले समेत धोका दिएपछि राजपा प्रवेश गरेको बताए । ०६४ सालबाट राजेन्द्र महतोको सम्पर्कमा रहेको बताउँदै उनले राजपा पार्टीमा प्रवेश गरेको बताए ।

उनले यसबाट कुनै पनि समुदाय, खासगरी थारु, सशंकित हुन आवश्यक नभएको बताए । सोही अवसरमा टीकापुर घटनाका आरोपित कैदीहरुले टीकापुर घटनाको राज्यले सत्यतथ्य पत्ता लगाउन नसकेको बताए ।

टीकापुर घटनामा पक्राउ परेकाहरुसँग तत्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले टीकापुर घटना राजनैतिक कारणले भएको र पक्राउ परेकाहरु सबै निर्दाेष रहेको बताउँदै नआत्तिन भने पनि अन्तिममा धोका दिएकाले राजपा पार्टी प्रवेश गरेको बताएका छन् ।

टीकापुर घटनाका नाममा सोझासाझा थारुलाई राज्यले फसाएको राजपाका नेता राजेन्द्र महतोले आरोप लगाए । टीकापुर घटनाका बन्दीहरुको रिहाइका लागि पहल भैरहेको समेत उनले बताए । महतोले थारुहरुले आफ्नो अधिकारका लागि थालेको आन्दोलनमा सहकार्य गर्ने थारुका अधिकारका लागि लड्ने पनि बताए ।

टीकापुर घटनामा घरेलु हतियार भाला, बञ्चरो, खुकुरीलगायत घरेलु हतियार प्रयोग गरेर सुरक्षाकर्मीको निर्मम तरिकाले हत्या भएको थियो भने केही सुरक्षाकर्मीलाई पेट्रोलबाट आगो लगाएर हत्या भएको थियो। नाबालकको टाउकोमा गोली हानिएको थियो।

 

प्रतिक्रया दिनुहोस्