शुभ तिहार: टीकाको उत्तम साइत बिहान ११:५१ बजे ।

काठमाडौं, ४ कात्तिक ।
यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व । दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिएर मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।दिदीबहिनीलाई पूजा गर्नाले अखन्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए ।

‘भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम छ, भाइटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्याह्नको समय निकालिएको हो’–उनले भने । लक्ष्मी पूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा अष्टदल लेखी त्यसमा मार्कन्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ ।

थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरंगी टीका लगाउने भनी प्रचार–प्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँचओटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गरिने धार्मिक एवं सामाजिक परम्परा छ । यस वर्ष टीका लगाउने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्ने उनले बताए ।

शनिबार पश्चिममा चन्द्रमा भएकाले लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कंदा सम्मुख हुन्छ । टीका लगाइदिनेभन्दा लगाइमाग्नेका लागि महत्वपूर्ण हुने भएकाले यसो गर्न अनुरोध गरिएको समितिले जनाएको छ । भाइटीका शनिबार परेकाले बिहान ८ बजेसम्म भने टीका नलगाउन अध्यक्ष गौतमले आह्वान गरे । आज शनिबार बिहान कालबेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन बाधा नरहेको उनको भनाइ छ ।

(रासस)

 

प्रतिक्रया दिनुहोस्