यी हुन आगामी चुनावको लागि प्रत्यक्षतर्फबाट भिड्ने तीन महिला उम्मेदवार ।

काठमाडौं ५ कार्तिक ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको प्रत्यक्ष निर्वाचनतर्फको मनोनयन दर्तामा लोकतान्त्रिक र वाम गठबन्धनले अघि सारेका २ सय १० उम्मेदवारमध्ये महिला ७ जना मात्रै रहेका छन्।

लोकतान्त्रिक र वाम गठबन्धनले सार्वजनिक गरेको अन्तिम सूचीमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ३ जना र प्रदेश सभामा ४ जना महिला परेका छन् । जसमा  ३ जना महिलाहरूले प्रतिनिधिसभाका लागि प्रत्यक्षमा लड्ने भएका छ्न । यस पटक संघीय चुनावको लागि एमालेको तर्फबाट एक जना महिला उम्मेदवार पनि आउन सकेनन् ।

नेपाली काँग्रेसले २ जना र नेकपा माओवादी केन्द्रले एकजना महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका हुन् । नेपाली काँग्रेसबाट सरस्वती बजिमय र चम्पादेबी खड्का तथा माओवादी केन्द्रले कमला रोकालाई उम्मेदवार बनाएका छन् । खोटाङकी उम्मेदवार सरस्वती बजिमय एमालेका विशाल भट्टराईसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । बजिमय निवर्तमान सांसद समेत हुन् ।

दोस्रो संविधानसभा निर्वाचनको चुनावी दौरानमा उम्मेदवार रहेका खड्काका श्रीमान हरिबहादुर खड्काको निधनपछि चम्पादेबी आफै चुनाव लडेर जितेकी थिइन् । त्यसै गरी बाग्लुङ क्षेत्र नंं १ मा नेपाली काँग्रेसले चम्पादेबी खड्कालाई उमेदवार बनाएको छ ।

उहाँले बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डा। सूर्य पाठकसंग प्रतिस्पर्धा गर्नुपर्ने छ । त्यसैगरी रुकुमबाट माओवादी केन्द्रले कमला रोक्कालाई उम्मेदवार बनाएको छ । कमला रोका पश्चिम रुकुमबाट चुनाव लड्दैछिन् । बाम गठबन्धनबाट उमेदवार बनेकी रोकाले काँग्रेसका गोपालजंग शाहसँग प्रतिस्पर्धा गर्नुहुने छ ।

एमालेले भने ३२ जिल्लामा गठबन्धन गर्दा पाएका २१ सिटमा एक जना पनि महिला उम्मेदवार बनाएको छैन । यस्तै, प्रदेश सभामा वाम गठबन्धनबाट नुवाकोट (क) मा राधिका तामाङ, बझाङ (ख) मा देवकी मल्ल र लोकतान्त्रिक गठबन्धनबाट ताप्लेजुङ (क) मा लीलादेवी बोखिम र बझाङ (क) मा चन्द्रादेवी जोशीको नाम सिफारिस भएको छ।

पहिलो चरणको निर्वाचन ३२ जिल्लामा हुँदैछ । नेपालको संविधानको परिकल्पना र प्रमुख राजनीतिक दलका घोषणापत्रमा राज्यका सबै क्षेत्रमा कम्तीमा पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने प्रतिबद्धता छ । तर, ३२ जिल्लाको आँकडा अनुसार करिब ३ प्रतिशत महिलाको मात्रै उम्मेदवारी परेको छ।

दलहरु आफैंले लेखेको संविधान र विभिन्न समयमा गरेको ३३ प्रतिशत महिलाको हरेक क्षेत्रमा सहभागिता गराउने प्रतिबद्धता गरेका दलहरुले पहिलो चरणको उम्मेदवार मनोनयनमा त्यसलाई उपेक्षा गरेका छन्।

 

 

प्रतिक्रया दिनुहोस्