देउसी भैलोबाट सङकलित रकमबाट अभिभावक गुमाएका बालबालिकालाई खाद्यान्न सहयोग ।

लोकेन्द्र रावल टीकापुर,६ कात्तिक ।
लोटस युवा क्लव टीकापुरले तिहारमा देउसीभैलो खेलेर जम्मा भएको रकमबाट टीकापुर नगरपालिका वडा नं. २ राजीपुरमा अभिभावक गुमाएका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

क्लवले आज (सोमबार)एक कार्यक्रम आयोजनागरी देउसी भैलोबाट संकलित रकमले बालबालिकालई चामल, दाल, नुन तेल र गहुंको पीठो उपलब्ध गराएको हो ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल र वडा नं. २ का वडा अध्यक्ष प्रकाश बहादुर बुढाथोकीले संयुक्त रुपमा खाद्यान्न हस्तान्तरण गर्नुभएको हो । बालबालिकाका ३६ बर्षिया बुवा हर्कबहादुर परियारको २०७४ असोज ९ गते निधन भएको थियो । बुवाको निधन भएपछि शोकमा रहनुभएकी आमा सरा परियारको असोज ११ गते निधन भएको थियो ।

आमा बुवा दुबै गुमाएपछि चार बालबालिकाको विचल्ली भएको थियो । यसरी समस्यामा रहेका बालबालिकालाई युवाहरुको क्लवले सहयोग गरेको देख्दा खुशी लागेको नगरपालिकाका प्रमुख रावलले बताउनुभयो ।

उहांले समुदायमा यस्तै सहयोगी हातहरु जुर्मुराएमा अप्ठेरो परेकाहरुलाई राहत हुने बताउनुभयो । क्लवका अध्यक्ष कमल सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो । क्लवले टीकापुर बजारमा देउसी भैलो खेलेर रकम संकलन गरेको थियो ।

अध्यक्ष सुवेदीले परम्परागत देउसीभैलो खेलेर जम्मा भएको रकमलाई वनभोज वा अन्य फजुल खर्च गर्नुभन्दा सामाजिक सेवामा खर्च गर्नु उत्तम भएको भन्दै बालबालिकालाई सहयोग गरिएको बताउनुभयो ।

 

 

प्रतिक्रया दिनुहोस्