बर्दियामा साढे दुईलाख बढि मतदाता, पुरुष भन्दा महिलाको सङ्ख्या बढी ।

बर्दिया, ७ कार्त्तिक ।
आगामी मङ्सिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाको निर्वाचनका लागि बर्दियाबाट दुई लाख ७२ हजार ४ सय ७७ जना मतदाताले सहभागीता जनाउने भएका छ्न ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार गत भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएसँगै बर्दियामा १९ हजार २८९ जना मतदाता बढेका छन्।

स्थानीय तह निर्वाचनमा एक लाख २८ हजार २१८ महिला, एक लाख २४ हजार ९६५ पुरुष र पाँच अन्य गरी दुई लाख ५३ हजार १८८ मतदाता संख्या रहेकामा भदौ ५ गतेसम्म मतदाता नामावली दर्तापछि मतदाता संख्या वृद्धि भएर दुई लाख ७२ हजार ४७७ पुगेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर– १ मा एक लाख ३९ हजार ३६२ मतदाता छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर– १ अन्तर्गतको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर– १ मा ७० हजार १९३ र क्षेत्र नम्बर– २ मा ६९ हजार १६९ मतदाता छन्।  त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर– २ मा एक लाख ३३ हजार २१५ मतदाता छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर– २ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर– १ मा ७० हजार ९५५ र क्षेत्र नम्बर– २ मा ६२ हजार १६० मतदाता रहेका छन्।  बर्दियामा छवटा नगरपालिका र दुईवटा गाउँपालिका गरी ८ वटा स्थानीय तह छन्। बर्दियामा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा क्षेत्र कायम भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवनकुमार शाहीले बताए।

बर्दिया जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाता बढी रहेको पाइएको छ । वैदेशिक रोजगारीका कारण अधिकांश पुरुषहरू फोटोसहितको मतदाता नामावली दर्ता गर्न छुटेका कारण महिलाको संख्या बढी भएको हुन सक्ने बताइएको छ।

 

 

प्रतिक्रया दिनुहोस्