आइजिपी अर्यालविरुद्ध हदैसम्मको कारबाही माग गर्दै सर्बोच्चमा रिट दायर ।

काठमाडौं, ७ कात्तिक ।
प्रहरी महानिरीक्षक प्रकाश अर्याल विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्याल विरुद्ध हदैसम्मको कारबाही माग गर्दै रिट दायर गरेका हुन् ।

सर्वोच्च अदालतबाट जन्मकैदको सजायँ सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ नगरेको भन्दै त्रिपाठीले रिट हालेका हुन् । यस अघि त्रिपाठीकै रिटमा सर्वोच्चले एक हप्ता भित्र ढुंगेललाई समाउन प्रहरी महानिरीक्षकको नाममा परमादेश जारी गरेको थियो ।

अदालतको सुनुवाइबाट अर्याल दोषी देखिए १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। अदालतले अवहेलनामा सजाय गरेमा उनीमाथि फौजदारी अभियोग प्रमाणित हुनेछ र ठहर भए महानिरीक्षक पद नै धरापमा पर्नेछ। निवेदनमाथि बुधबार सुनुवाइ हुनेछ।

निवेदनमा ढुंगेललाई पक्राउ गर्नका लागि विशेष कार्यदल गठन गरी हरेक २४ घन्टामा पक्राउ प्रयासबारे अदालतलाई जानकारी गराउन पनि माग गरिएको छ।

२०७४ बैसाख १ गते त्रिपाठीले नै दायर गरेको निवेदनमा सर्वोच्चले ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न वारेन्ट नोटिस जारी गरेको थियो। तर, त्यसपछि प्रहरीले उनी नेपालमै नरहेको दाबी गर्दै सर्वोच्चमा प्रत्येक महिना अनुसन्धान प्रतिवेदन बुझाउने गरेको छ। ढुंगेल भने केन्द्रीय नेता र सांसदहरुसँग घुमेर बस्दै आएका छ्न ।

 

प्रतिक्रया दिनुहोस्