एमाले जाजरकोटबाट उम्मेदवार बनेका निरज आचार्यद्वारा उम्मेदवारी फिर्ताको घोषणा ।

जाजरकोट, ८ कार्तिक ।
जाजरकोटको प्रदेश सभा (क) बाट नेकपा एमालेका उम्मेदवार बनेका निरज आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

सदरमुकाम खलंगामा आज बिहान पत्रकार सम्मेलन गरी आचार्यले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे । पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेका थिए ।

पत्रकार सम्मेलनमा आचार्यले आफुले पार्टी स्थायी कमिटी बैठकबाट टिकट पाएर उम्मेदवारी दिएको दाबी गरे । तर उनले भने- मेरै कारण वामपन्थी गठबन्धन भत्किन नदिन पार्टीको निर्देशन शिरोपर गर्नुपर्याे । अध्यक्षले निरंकुश शैलीमा मेरै टिकट खोस्नुभयो, त्यसैले ओलीको टिकट ओलीलाई नै फिर्ता भयो भन्दै आक्रोश पोखेका थिए ।

एमाले माओवादी सिट बाँडफाँटका क्रममा जाजरकोटको प्रतिनिधिसभा माओवादीलाई र प्रदेशसभा दुवै एमालेको भागमा परेको थियो । तर, उम्मेदवारी मनोयनका दिन हुम्लामा एक सिट माओवादीले पाउने भएपछि जाजरकोट एमालेले एउटा छाड्ने सहमति केन्द्रमा भएको थियो ।

तर त्यतिबेलासम्म जाजरकोट क मा आचार्य र ख मा एमालेकै करवीर शाहीले मनोनयन दर्ता गरिसकेका थिए । माओवादीका गणेशप्रसाद सिंहले पनि आचार्यकै क्षेत्रमा उम्मेदवारी दर्ता गराएपछि विवाद भएको थियो ।

प्रदेश ख मा पनि माओवादीका नरबहादुर कार्कीले उम्मेदवारी दिएका छन् । आचार्यको उम्मेदवारी फिर्तासँगै माओवादीका सिंह प्रदेश ख मा वाम गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् ।

एमाले नेताहरुले जाजरकोटमा स्थानीय चुनाव परिणामले एमाले पहिलो पार्टी भए पनि सिट बाँडफाँटमा माओवादीलाई बढी दिइएकोमा केन्द्रीय नेतृत्वप्रति आक्रोश पोखेका छन् ।

(अनलाइनखबरको सहयोगमा )

 

प्रतिक्रया दिनुहोस्