जाजरकोटमा दुवै गठबन्धनका ६ जना बागीले फिर्ता लिए उम्मेदवारी ।

जाजरकोट, ८ कार्तिक ।
जाजरकोटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार गोविन्दविक्रम शाहसमेत छन्। उनी एमाले नेता हुन्। यससँगै वाम गठबन्धनबाट उम्मेदवारी दिएका पूर्व गृहमन्त्री एवम् माओवादी नेता शक्ति बस्नतलाई केही सहज भएको छ। शाहले केन्द्रको निर्देशनअनुसार आफूले उम्मेदवारी फिर्ता लिएको बताए।
पार्टीले माओवादी उम्मेदवार शक्ति बस्नेतलाई सघाउने गरी तालमेल गरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) बाट उम्मेदवारी दिएका माओवादीका नरबहादुर कार्कीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। प्रदेश (क) बाट एमालेका निरज आचार्यले बिहानै उम्मेदवारी फिर्ता लिइसकेका छन्।
यससँगै वाम गठबन्धनबाट अब प्रतिनिधिसभामा माओवादीका शक्ति बस्नेत, प्रदेश (क) मा माओवादीकै गणेशप्रसाद सिंह र प्रदेश (ख) मा एमालेका करवीर शाही आधिकारिक उम्मेदवार बनेका छन्। तालमेलको सहमतिमा केन्द्रबाटै अन्तिम समयमा हेरफेर भएपछि जाजरकोटमा प्रदेशतर्फ दुवै पार्टीले दुवै क्षेत्रमा उम्मेदवारी दिएका थिए।

अन्तत: केन्द्रको निर्देशनअनुसार (क) बाट एमाले र (ख) बाट माओवादी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्। यसैगरी राप्रपा (प्रजातान्त्रिक)का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका वीरबहादुर मल्ल, प्रदेश (क) का कृष्णविक्रम शाह र (ख) का लालबहादुर राउतले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

उनीहरुले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सघाउने भएका छन्। जाजरकोटमा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट पूर्वगृहमन्त्री बस्नेत तथा कांग्रेसबाट राजिवविक्रम शाह प्रतिस्पर्धामा छन्।

 

प्रतिक्रया दिनुहोस्