गहुँ लगाउने समयमा रासायनिक मल नपाउदा किसानहरु समस्यामा ।

कैलाली, ११ कात्तिक ।
कैलाली जिल्लामा गहुँ लगाउने समयमा रासायनिक मल नपाउदा किसानहरु समस्यामा परेका छ्न ।

जिल्लामा  केही महिनाअघिदेखि मल वितरण प्रणालीमा कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय धनगढीबिच उत्पन्न विवादले जिल्लामा माग अनुसार समयमा रासायनिक मलको आपूर्ति हुन नसक्दा अभाव भएको हो  । जसका कारण किसानहरुले मल पाउन सकेका छैनन् ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन बिच डिलरसिपका बारेमा विवाद उत्पन्न भएपछि जिल्लामा रासायनिक मल आपूर्तिमा कमी हुदा जिल्लामा  रासायनिक मलको अभाव भएको बताइएको छ ।

यो समयमा जिल्लामा आलु, तरकारी, तोरी र गहुँ खेतीका लागि  मल चाहिएको छ । तर मलको अभावले हिउँदे खेती नै प्रभावित हुने चिन्ता बढेको किसानहरुले बताउन थालेका छ्न ।  कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले असोज २९ गतेसम्म मल वितरण गरे पनि अहिले मौज्दात सकिएको जनाएको छ ।

यहाँको लागि चाहिने मल अझै भारतबाट नेपाल भित्रिन सकेको छैन । जसकारण किसानहरुले तत्काल रासायनिक मल पाउने संभावना छैन । साल्ट ट्रेडिङ कर्पोरेसनले डिलरसिपका कारण उत्पन्न विवादले समयमा मलको आपूर्ति नहुँदा हाल डिएपी मलको मौज्दात नरहेको जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका अञ्चल प्रमुख केशवप्रसाद पाण्डेले जिल्ला कृषि विकास कार्यालयले आफूसँग डिलरसिप लिएका सहकारीको डिलरसिप खारेज गरेपछि भदौ २६ गते पहिले आफूहरुसँग मलको माग नआएकोले आपूर्ति नगरेको र अहिले अभाव सिर्जना भएको बताउनुभयो ।

तर कृषि सामाग्री कम्पनी लिमिटेडले भने डिलरसिप विवाद नभई भारतबाट आयात नै कम भएकोले मौज्दात नहुँदा मलको अभाव भएको जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्