धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन, दुर्घटनामा मृत्यु भएका २६ जनाको शव सप्तरी लगियो ।

काठमाडौ, १२ कात्तिक ।

सरकारले धादिङमा ३१ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

गृह मन्त्रालयले आज मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । गठित समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक छन् ।

समितिलाई भविष्यमा यस्ता दुर्घटना हुन नदिन राय सुझावसहित सातदिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । मन्त्रालयले सार्वजनिक यातायात सेवालाई भरपर्दो, सुरक्षित र व्यवस्थित तुल्याउन अपनाउनु पर्ने सबै निगरानी र अनुगमन कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न पनि स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ बांगेमोडस्थित त्रिशुलि नदीमा शनिबार बस खस्दा ३१ जनाको मृत्यु भएको थियो । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलि नदीमा खसेर दुर्घटना भएको हो ।

यसैगरी दुर्घटनामा परी मृत्यु भएका २६ जनाको शव सप्तरी लगिएको छ । दुर्घटनामा सप्तरीका मात्रै २६ जनाको मृत्यु थियो भने दुई जना अझै वेपत्ता छन् ।

सप्तरी जिल्लाको तिलाठी, राजविराज, देउरी भरुवा, मानराजा, बोदेवरसाईन, शम्भुनाथ, कृष्णाशवरणका २६ जनाको मृत्यु भएको हो । तिलाठीका तीन वर्षीय प्रतिक झा र २० वर्षीय पूजा झा अझै वेपत्ता छन् ।सञ्जितकुमार झा, मञ्जितकुमार झा, सिम्मीकुमारी झा, अभिनव झा, आदित्य झा, चन्द्रवती देवी झाको शव सप्तरीमा पुर्‍याइएको छ । यस्तै, चित्ररेखा प्रमाणी, चन्द्ररेखा प्रमाणी, चित्रलेखा प्रमाणी, रेखा प्रमाणी, नरेश मुखिया, समीक्षाकुमारी यादव, आशिकीकुमारी यादव, मानी यादव, पशुपति चौधरी, ऋषिआनन्द देव, पार्वती चौधरी, सुदिप चौधरी, सुशान्त चौधरी, रामानन्द यादव, प्रमोद ईशर, सुधीरकुमार यादव र समीक्षा यादवको शव सप्तरी पुर्‍याइएको हो ।

उनीहरुको सामूहिक रुपमा सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा अन्त्येष्टि  गरिँदैछ ।

 

 

प्रतिक्रया दिनुहोस्