बैतडीमा सञ्चालन हुने भनिएको मतदाता शिक्षा कार्यक्रम स्थगित ।

बैतडी, १४ कात्तिक ।
बदर मत घटाउने उद्देश्यले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीमा कात्तिक १६ गतेदेखि सञ्चालन हुने भनिएको मतदाता शिक्षा कार्यक्रम स्थगित भएको छ। 

जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार निर्वाचन आयोगले अर्को आदेश नआउँदासम्म मतदाता शिक्षा कार्यक्रम स्थगित गर्न निर्देशन दिएकाले मतदाता शिक्षा कार्यक्रम स्थगित भएको हो।

निर्वाचन आयोगको अर्को आदेश आएपछि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने उनले बताए। आयोगले कार्यक्रम स्थगित गर्नुको कारण नखुलाए पनि प्रत्यक्षतर्फका लागि प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलग–अलग मतपत्र छाप्ने भएकाले मतदाता शिक्षा कार्यक्रम स्थगित भएको बताइएको छ।

यसका साथै बैतडीमा मतदाता शिक्षा प्रदान गर्न छनोट भएका मतदाता शिक्षा स्वयंसेवकलाई भोलि १५ गते दिइने भनिएको तालिम पनि अर्को आदेश नआउँदासम्मका लागि स्थगित भएको छ। मतदाता शिक्षा कार्यक्रमका लागि बैतडीमा १८२ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

यसअघि मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यालयले जिल्लाका ८४ वटै वडाध्यक्ष र वडासचिवलाई रिपोर्ट बुझाउन आग्रह गरेको थियो। प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा सदस्य निर्वाचनका लागि २ निर्वाचन क्षेत्र रहेको बैतडीमा एकलाख ३२ हजार ३१९ मतदाता रहेका छन्।

प्रतिक्रया दिनुहोस्