पृथ्वीनारायण शाहको शालिक पुनःस्थापनाको माग राख्दै पोखरामा अनशन सुरु ।

पोखरा, १६ कात्तिक ।
पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक पुनःस्थापना गर्न माग राख्दै पोखरालेखनाथ महानगरपालिका कार्यालयको मूलद्वारमा रिले अनशन शुरु गरिएको छ। पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना संघर्ष समितिको अगुवाइमा बुधबारदेखि शुरु गरिएको रिले अनशन मंसिर २० गतेसम्म रहने र मागको सुनुवाइ नभएमा त्यसपछि कडा आन्दोलनका कार्यक्रम अघि बढाउने संघर्ष समितिका संयोजक शंकर खरालले बताए।

पहिलो चरणअन्तर्गत बुधबार डा दिलबहादुर क्षेत्री, पदमबहादुर कार्की, पूर्व सभासद् कृष्णकुमारी परियार, रामप्रसाद वस्ताकोटी, डिलबहादुर अधिकारी, पूजा शाह, टंकनाथ बराल, रुकु परियार र कृत्तिका परियार रिले अनशन बसेका छन्।

अनशन शुरु गर्न आयोजित कार्यक्रममा पूर्व सभासद् तथा उद्योगपति सूर्यबहादुर केसीले पूर्ववत् पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक रहेको स्थानमा महानगरपालिकाले शहीद लखन थापाको शालिक पुनः राख्नु गलत भएको बताए।

संघर्ष समितिका सदस्य डा दिलबहादुर क्षेत्रीले पृथ्वीनारायण शाहसँग तुलना गर्ने कुनै विभूति नभएको बताउँदै पृथ्वीचोकमा पूर्ववत् पृथ्वीनारायणकै शालिक राख्नुपर्ने उल्लेख गरे। दोस्रो जनआन्दोलनमा आन्दोलनकारीले पृथ्वीनारायण शाहको शालिक तोडफोड गरेपछि उक्त चोकमा मगर संघले शहीद लखन थापाको शालिक निर्माण गरेको थियो ।

सडकको ट्राफिक व्यवस्थापनमा कठिनाइ र सडक साँगुरो भएपछि पोखरालेखनाथ महानगरपालिकाले गत असोज ९ गते लखन थापाको शालिक हटाएकोमा पुनः नगरपालिकाबाट बजेट विनियोजन भई लखन थापाको शालिक निर्माण भइरहेको छ ।

शालिक हटाएकै भोलिपल्ट असोज १० गते मगर समुदायको दबाबपछि जिल्ला प्रशासन कार्यालय, कास्की र पोखरा लेखनाथ महानगरपालिकाबाट उक्त स्थानमा पुनः लखन थापाको शालिक निर्माण गर्ने निर्णय गरिएको थियो । रासस

 

प्रतिक्रया दिनुहोस्