दोश्रो चरणको निर्वाचनको लागि ३३५ महिलाको उम्मेदवारी ।

काठमाडौँ, १७ कात्तिक ।
आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी कूल ३३५ महिलाले उम्मेदवारी दर्ता गराउनुुभएको छ । दोस्रो चरणका ४५ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि प्रतिनिधि सभातर्फ १२६ र प्रदेश सभातर्फ २०९ गरी कूल ३३५ महिलाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहीबार उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो । निर्वाचन आयोगका अनुसार, प्रतिनिधि सभातर्फ एक हजार ७४२ र प्रदेश सभातर्फ दुई हजार ९६६ गरी जम्मा चार हजार ७०८ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसअघि पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ४१ महिलाले उम्मेदवारी दिनुभएको थियो । यही कात्तिक ५ गते भएको उम्मेदवारी मनोनयन दर्तामा प्रतिनिधि सभामा १८ र प्रदेश सभाका लागि २३ महिलाले उम्मेदवारी दिनुभएको थियो ।

पहिलो चरणमा प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको निर्वाचन हुँदैछ । जनसंख्याअनुसार महिलाको प्रतिनिधित्व कम भएको भन्दै अन्तर पार्टी महिला सञ्जालले संविधानको भावनाअनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने मागसहित दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

 

प्रतिक्रया दिनुहोस्