निर्वाचन आयोगद्वारा गोविन्दराज जोशीको उम्मेदवारी खारेज ।

काठमाडौं, १८ कात्तिक ।
निर्वाचन आयोगले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले दिएको उजुरीका आधारमा उनी विरुद्ध बागी उठेका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरिदिएको छ।विशेष अदालतले भ्रष्टाचार ठहर गरेको र उक्त फैसला अन्तिम भएको उजुरीलाई आधार मान्दै आयोगले  जोशीको उम्मेदारी खारेजी गरेको हो। तनहुँ क्षेत्र नम्बर-१ मा आफू विरुद्ध उम्मेदवारी दर्ता गराएका नेता जोशी अयोग्य भएको दाबी गर्दै पौडेलले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा उजुरी दर्ता गराएका थिए।

अदालतले भ्रष्टाचारी ठहर भएको व्यक्ति निर्वाचनको उम्मेदवार हुन नसक्ने दाबी गर्दै पौडलले उजुरी दिएका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ मा भ्रष्टाचार ठहर भएको व्यक्ति उम्मेदवार हुन नपाउने भनिएको छ। पौडेलको निवेदनमा भ्रष्टाचार पनि नैतिक पतन देखिने फौजदारी कसुरमा परेका कारण जोशी अयोग्य भएको दाबी गरिएको थियो।

पौडेलले विशेष अदालतको फैसला समेत साथै राखी आयोगमा निवेदन दिएका थिए। २०६९ साउन १० गते विशेष अदालतले जोशीलाई भ्रष्टाचारी ठहर गरेको र उक्त फैसला अन्तिम भई बसेको दाबी पौडलको निवेदनमा गरिएको थियो।

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री जोशीले तनहुँ–१ बाट पौडेल विरूद्ध बिहीबार उम्मेदवारी दर्ता गराएका थिए।

प्रतिक्रया दिनुहोस्