यू–१९ क्रिकेट: नेपालले बंगलादेशलाई ६ विकेटले हरायो ।

काठमाडौं, १९ कात्तिक ।
मलेसियामा हुने यू–१९ एसिया कपको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको छ। आज भएको तेस्रो खेलमा बंगलादेशले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा पार गर्‍यो। तर अन्तिम खेलमा जित हात पारे पनि नेपालले तीन खेलको एकदिवसीय सिरिज २–१ ले गुमाएको छ ।

नेपालको जितमा ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे । मोहम्मद आसिफ शेख र जितेन्द्र सिंहको ओपनिङ जोडीले पहिलो विकेटका लागि ३२.१ ओभरमा १ सय ३९ रनको साझेदारी गरे । आसिफले ९० रन बनाए । पहिलो पटक यू–१९ टिममा परेका जितेन्द्रले ४५ रन बनाए।

यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट २७ रन  र ‍भीम सार्कीले नटआउट १३ रन बटुले । दीपेन्द्रले ३६ बलमा ३ चौका र भीमले १० बलमा १ चौका र १ छक्का प्रहार गरे ।

अनिलकुमार साह १५ रनमा आउट भए । रोहितकुमार पौडेल २५ रनमा आउट भए । उनले २२ बल खेलेर ३ चौका प्रहार गरेका थिए। बंगलादेशका काजी इस्लाम, रोनी हुसेन, शिखावत हुसेन र सइफ हसनले समान १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर पूरै खेलेर ७ विकेटको क्षतिमा २ सय २५ रन जोड्यो । नेपालका साहब अलामले ३ विकेट लिन सफल भए । अनिलकुमार साहले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे। यसअघि बंगलादेश पहिलो खेलमा ३ विकेट र दोस्रो खेलमा १२३ रनले विजयी भएको थियो।

तीन अभ्यास खेलपछि नेपाली टिम सोमबार स्वदेश फर्किनेछ। कात्तिक २३ देखि मलेसियामा हुने एसिसी यू–१९ एसिया कपमा नेपाल र भारत एउटै समूहमा छन् । समूह ‘ए’ मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन् । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसिसी पश्चिम क्षेत्र च्याम्पियनसिपको विजेताले प्रतिस्पर्धा गर्नेछन्।

एसिया कपमा नेपालले पहिलो खेल कात्तिक २५ मा बंगलादेशसँग खेल्नेछ । नेपालको दोस्रो खेल कात्तिक २६ मा भारतसँग र तेस्रो खेल कात्तिक २७ मा मलेसियासँग रहेकोे छ।

 

प्रतिक्रया दिनुहोस्