वाणिज्य संघको टोलीद्वारा भन्सार क्षेत्रको अनुगमन ।

लोकेन्द्र रावल टीकापुर, २१ कात्तिक ।
टीकापुर उद्योग वाणिज्य संघको टोलीले आज खक्रौला छोटी भन्सार क्षेत्रको अनुगमन गरेको छ । संघका उपाध्यक्ष सुरेन्द्र किशोर गिरीको नेतृत्वमा गएको टोलीले भन्सार क्षेत्रको अनुगमन गरी चोरी तस्करीमा कडाई गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको छ । टोलीले अनुगमनका क्रममा भारतीय बजार तिकुनीयाँबाट सामान ल्याउनेहरुले भन्सार महशुल नतिर्ने गरेको पाईएको जनाएको छ ।

टोलीले दवाव दिएपछि भन्सार कर्मचारीहरुले साइकल, मोटरसाइकल लगायतमा सामान ओसार्नेहरुसँग महशुल असुलेको छ । मोहना नदीमा पुल बनेपछि सामानका लागि प्रायः ग्राहकहरु भारतीय बजार जान थालेका छन । उनीहरु मध्ये अधिकांशले भन्सार महशुल नतिरेरै सामान भित्र्याउने गरेका छन । संघका उपाध्यक्ष गिरीले अब अनुगमन निरन्तर चलिरिहने बताउनु भयो ।

नेपालीहरु सामानका लागि सीमा पारी जान थालेपछि टीकापुर लगायत आसपासका बजार सुनसान हुन थालेको व्यवशायीहरुको गुनासो छ । टोलीमा सदस्यहरु नारायण न्यौपाने, मनिष बलायर र कृष्ण घिमिरेको सहभागीता रहेको थियो । अनुगमनमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख टिका वहादुर कार्कीको पनि सहभागिता रहेको थियो ।

 

प्रतिक्रया दिनुहोस्