एएफसी यू-१९ फुटबल: नेपालले आज ओमानको सामना गर्दै ।

काठमाडौ, २२ कात्तिक ।

एएफसी यू-१९ च्याम्पियनसिप फुटबलको दोस्रो चरण पुग्ने लक्ष्यसहित किर्गिस्तानमा रहेको नेपालले आज ओमानको सामना गर्दैछ ।नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ः०० बजे सुरु हुनेछ । ओमानलाई रोक्न सके नेपाल कम्तीमा अंकविहिन हुने छैन । छनोटमा गोलविहिन हुनबाट जोगिन नेपालसँग आज एउटा अवसर रहेको छ । शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँग १–० ले पराजित भएसँगै नेपाल छनोटबाट बाहिरिएको थियो ।

पहिलो खेलमा आयोजक किर्गिस्तानसँग २–० हारेको नेपालले बहराइनसँग खेल ४–० ले गुमाएको थियो । केहि साता अघि साफ यू १८ च्याम्पियनसिप जितेको नेपाली टोली त्यसपछि एएफसी यु १९ को छनोटको यात्रामा निस्केको थियो । अहिले टोलीमा अधिकांश यु १८ च्याम्पियन टोलीका खेलाडी छन् ।

समूह एको अन्तिम दुई खेल बाँकी रहँदा युएई ९ अंकसहित शीर्षस्थानमा छ । सबै ४ खेल खेलेको किर्गिस्तान र बहराइनको समान अंक भएपनि गोलअन्तरमा आयोजक दोस्रो स्थानमा छ । ओमान ४ अंकसहित चौथो स्थानमा छ । पुछारमा रहेको नेपालले खाता खोल्न सकेको छैन ।

आज हुने समूहको अन्तिम खेलमा युएई र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा प्रवेश गर्नेछ । त्यस्तै दश समूहका विजेता र सबै समूहबाट उत्कृष्ट ५ उपविजेता राष्ट्रले आयोजकसँगै अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतिक्रया दिनुहोस्