माओवादी केन्द्रका तीन जना पोलिटव्यूरो सदस्यसहित दश जना नेता पार्टीबाट निष्कासित ।

काठमाडौं, २३ कात्तिक ।
नेकपा माआवादी केन्द्रले तीन जना पोलिटव्यूरो सदस्यसहित दश जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।वाम गठबन्धन विरुद्ध उमेदवारी दिएका नेता,उनीहरुका प्रस्तावक र समर्थकलाई माओवादीले पार्टी सदस्य समेत नरहने गरी अनुशासनको कारवाही गरेको हो ।

माओवादी केन्द्रले हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा छिमिदोर्जे लामाबिरुद्ध बागी उममेदवारी दिने पोलिटव्यूरो सदस्य छक्कबहादुर लामा, सल्यानबाट प्रतिनिधिसभा सदस्यमा टेकबहादुर बस्नेतबिरुद्ध बागी उम्मेदवारी दिएका पोलिटव्यूरो सदस्य उमाकान्त शर्मा र सल्यानबाटै प्रदेश ‘क’ मा बागी उमेदवारी दिएका पोलिटव्यूरो सदस्य भिमप्रकाश शर्मालाई कारवाही गरेको जनाएको छ ।

सल्यानबाटै प्रदेश ‘ख’ बाट बागी उम्मेदवारी दिएका आयोजक समिति सदस्य जितबहादुर पुनलाई पनि पार्टी सदस्य नरहने गरी माओवादीले कारवाही गरेको छ भने सल्यानका बागी उम्मेदवारहरुका प्रस्तावक र समर्थक आयोजक समिति सदस्यहरु प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीरा ओली, हरिलाल डिसी, टंक ढकाल र कीर्तिबहादुर रानालाई पनि माओवादीले कारवाही गरेको छ ।

 

प्रतिक्रया दिनुहोस्