प्रदेश नम्बर ६ को राजधानी वीरेन्द्रनगर नै हुन्छ: कँडेल ।

कृष्ण आचार्य सुर्खेत, २४ कात्तिक ।
सुर्खेत निर्वाचन क्षेत्रनम्वर दुई अन्तर्गत प्रदेशसभा (क) का उम्मेद्वार यामलाल कँडेलले विकसित प्रदेश निर्माणका लागि आफूहरुलार्ई भोट दिन अनुरोध गर्नुभएको छ ।वीरेन्द्रनगर नगरपालिका वडानम्वर ६ को संगठन कमिटिले आयोजना गरेको कार्यक्रमसहित अन्य विभीन्न कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाले आफूलगायत नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठवन्धनले वीरेन्द्रनगरलाई सुन्दर र विकसित प्रादेशिक राजधानी बनाउने गरी काम गर्ने पनि बताउनुभयो ।

कतिपय दलले निर्वाचनलाई नै केन्द्रित गरी गाउँघर डुल्ने र आश्वासन बाँड्ने गरेप्रति लक्षित गर्दै कँडेलले आफूहरुले एक वर्ष अघि नै प्रदेशको विकासका लागि स्पष्ट खाका सार्वजनिक गरिसकेको बताउनुभयो । अव त्यही खाकाअनुसार काम गर्नेगरी आफूहरुलाई मौका दिन कँडेलले अनुरोध गर्नुभयो ।

प्रदेशनम्वर ६ को पहिलो मुख्यमन्त्रीका रुपमासमेत हेरिएका कँडेलले सम्भावना नै सम्भावना भएको यस प्रदेशलाई पाँच वर्षभित्र विकसित र अरु प्रदेशभन्दा धनी प्रदेश बनाउने बताउनुभयो  । अहिले आफूले घोषणापत्रमार्फत् सार्वजनिक गरेका योजनाहरु पाँच वर्षभित्रै जनताले हिसावकिताव गर्नेगरी पूरा गर्ने दृढतासमेत कँडेलले व्यक्त गर्नुभयो ।

पूर्व पर्यटनमन्त्रीसमेत रहनुभएका कडेलले  अव नेपालका स्थानिय, प्रदेश र केन्द्रिय सरकार कम्यूनिष्टकै बन्ने बताउनुभयो  ।  एमालेका केन्द्रिय पोलिट्व्यूरो सदस्यसमेत रहनुभएका कँडेलले अहिले दुईवटा पार्टीको गठवन्धन भएपनि निर्वाचनपछि पार्टी नै एउटा बन्ने भएकाले ढुक्कसँग मतदान गर्न आव्हान गर्नुभएको छ ।

कँडेलले विगतमा आफूले निर्वाचन जित्दा पनि र पराजय व्यहोर्दा पनि नियमीत जनताकै माझमा रहेको र आगामी दिनमासमेत सेवा गर्ने मौका दिन आग्रह गर्नुभएको छ ।

(फोटो:-यामलाल कँडेलको फेसबुकबाट)

प्रतिक्रया दिनुहोस्