वर्षमान पुनलगाएत वाम गठबन्धन रोल्पाका नेताहरु चढेको गाडीलाई लक्षित गरी बम प्रहार ।

रोल्पा, २५ कात्तिक ।
माओवादी केन्द्रका नेता वर्षमान पुनलगाएत वाम गठबन्धन रोल्पाका नेताहरु चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ।
रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा नेता पुन चढेको गाडीलाई लक्षित गरी बिच्छ्याइएको विद्युतीय धराप ‘माइन’ विस्फोट गराइएको हो । जिल्लाको घर्ती गाउँमा हुने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पुनमाथि लक्षित गरी आक्रमण गरिएको हो । पुनसहितको टोली ५ ओटा गाडीमा लस्करै जिनाबाङबाट घर्ती गाउँ जाँदै गरेको थियो ।

गाडिमा पूर्वअर्थमन्त्री पुन, नेत्री जयपुरी घर्ती, प्रदेससभा रोल्पा निर्वाचन क्षेत्र नं ‘ख’ का प्रत्यक्षतर्फका उम्मेदवार दीपेन्द्र पुन सिजल, एमालेका जिल्ला अध्यक्ष हरि घर्तीलगायत थिए ।

बम कसले राखेको भन्ने यकिन नभएपनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विद्युतीय धराप थापेको हुनसक्ने आशंका गरिएको छ । पुनको दबाबमा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी र इन्चार्ज दलबहादुर खत्रीलाई प्रहरीले पक्रेको भन्दै नेकपाका कार्यकर्ता पुनप्रति आक्रोशित बनेको र त्यही रीस साँध्न धराप थापेको आशंका प्रहरीको छ ।

विस्फोटलगत्तै बाटोछेउमा लुकेर बसेका विप्लव कार्यकर्ताले फायरिङसमेत गरेको रोल्पाबाट नेता पुनले जानकारी दिएका छन् । जवाफमा उम्मेदवारको सुरक्षा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ गरेका थिए ।

माइन विस्फोट हुँदा दुईओटा गाडीमा सामान्य क्षति भएपनि गाडीमा रहेका सबैजना सकुशल रहेको नेता पुनले जनाएका छन् । पुन चढेको उक्त गाडीमा माओवादीकी समानुपातिक उम्मेदवार जयपुरी घर्ती र रोल्पा-२ का माओवादी प्रत्यक्ष उम्मेदवार दीपेन्द्र पुन पनि रहेको बताइएको छ ।

एमाले नेता गोकुल घर्ती र एमालेका प्रदेशसभाका समानुपातिक उम्मेदवार ईश्वरी घर्ती पनि सोही टोलीमा रहेको तर अर्को गाडीमा थिए । घटनाबारे प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेता पुनसँग जानकारी लिएका छन् ।

यसअघि शुक्रबार (हिजो)मात्रै रुकुममा पनि माओवादी उम्मेदवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लव कार्यकर्ताले बम प्रहार गरेका थिए ।

 

प्रतिक्रया दिनुहोस्