पहिलो खेलमा नेपाल बंगलादेशसँग दुई विकेटले पराजि, भोलि भारतसँग खेल्ने ।

काठमाडौ, २५ कात्तिक ।
मलेसियामा जारी यु-१९ युथ एसिया कप अन्तर्गत नेपाल बंगलादेशसँग पराजित भएको छ ।पानीले प्रभावित भएको खेलमा बंगलादेशले ३९.५ ओभरमा डकवर्थ-लुइस प्रणाली (डिएलएस) मार्फत २ विकेटको जित हात पार्यो ।बंगलादेशको पारी सम्हाल्दै ओपनर मोहम्मद नइम शेखले ८२ बलमा सर्वाधिक ५२ रन बनाएका थिए । त्यस्तै अफिफ होसेन ध्रुबो (३३) र पिनाक घोस (२५) ले पनि राम्रो ब्याटिङ प्रदर्शन गरेका थिए ।

बलिङमा खराब सुरुवात गरेको नेपालले अन्तिमतिर भने लय समातेको थियो । तर अन्तिममा केहि खराब फिल्डिङका कारण खेल बंगलादेशको पक्षमा रहन पुग्यो । बलिङतर्फ नेपालका लागि कमल ऐरी र सन्दिप लामिछानेले २-२ विकेट लिएका थिए ।

यस अघि नेपालले आफ्नो पारीमा ४०.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । तर पानीले खेल प्रभाव भएको कारण बंगलादेशले ४० ओभरमा एक सय ८१ रनको नयाँ लक्ष्य पाएको थियो ।

नेपालका लागि भिम सार्कीले ४० बलमा सर्वाधिक ४४ रन जोड्न सफल भए । रोहित कुमार पौडेलले ४० रन बनाए भने ओपनर आसिफ सेखले ५२ बलमा ३० रन बटुलेका थिए ।

त्यस्तै मिडल अर्डरमा कप्तान दिपेन्द्र ऐरी (१२) र अनिल कुमार शाह (१९) भने सस्तैमा पभेलियन फर्किएका थिए । बंगलादेशका नयिम हसनले सर्वाधिक ३ विकेट लिएका थिए । नेपालले आफ्नो दोस्रो खेल भोली आइतबार भारतसँग खेल्ने छ ।

 

प्रतिक्रया दिनुहोस्