मतदाता परिचयपत्र मंसिर ८ र ९ गते वितरण हुने ।

काठमाडौं, २६ कात्तिक ।
मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र बुझ्न बाँकी रहेका मतदाताको परिचयपत्र पहिलो चरणमा चुनाव हुने जिल्लामा मंसिर ८ र ९ तथा दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १९ र २० गते वितरण गरिने भएको छ ।

निर्वाचन आयोगका अनुसार गएको भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका, ठाउँसारी र सच्याउन निवेदन दिएका मतदाताको परिचयपत्र उक्त मितिमा सम्बन्धित मतदान केन्द्रबाट उपलब्ध गराइनेछ ।

आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेकालाई पनि त्यहि मितिमा मतदाता परिचयपत्र वितरण गरिनेछ ।

स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले त्यहि परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यहोरा निर्वाचन आयोगले सबैलाई सूचित गरेको छ । रासस

 

प्रतिक्रया दिनुहोस्