आसन्न निर्वाचनका लागि काँग्रेसले गठन गर्यो ६ उपसमिति ।

काठमाडौँ, २७ कात्तिक ।
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा यसका बारेमा जानकारी दिइएको हो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले काँग्रेसले मूल समिति मातहतमा प्रचारप्रसार, अनुगमन तथा मूल्यांकन, शान्तिसुरक्षा व्यवस्थापन समन्वय, भ्रातृ संस्था परिचालन, शुभेच्छुक संस्था परिचालन, मतदाता शिक्षा प्रशिक्षण, आर्थिक समृद्धि र विकास समन्वय, प्राविधिक, पूर्वराष्ट्रसेवक समन्वय, कला सांस्कृतिकर्मी समन्वय र नेपाली जनसम्पर्क समिति समन्वय उपसमिति गठन गरेको जानकारी दिए।

उपसमितिलाई जिल्लामा पार्टीका उम्मेदवारलाई विजयी गराउन जिल्लास्तरका पार्टीका सबै संयन्त्र परिचालन गरी विधागत काम गर्ने जिम्मेवारी तोकिएको छ । काँग्रेसले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको तयारीका लागि आजैदेखि सबै जिल्लामा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ।

केन्द्रीय प्रतिनिधिले पार्टी उम्मेदवारलाई विजयी गराउन जिल्लाका सबै संयन्त्र परिचालन गर्ने, आवश्यक तथ्यांक संकलन गरी केन्द्रमा जानकारी गराउने, लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच समन्वय गर्नेलगायत काम गर्ने नेता खाँणले बताए।

पार्टीले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले मुलुकभरका चुनावी आमसभालाई सम्बोधन गर्ने तालिकासमेत सार्वजनिक गरेको छ । प्रधानमन्त्री देउवाले यही कात्तिक २५ गते ताप्लेजुङबाट चुनावी प्रचारको थालनी गरिसकेका छन्।

प्रधानमन्त्री देउवाले पहिलो चरणमा कात्तिक २८ गते नेपालगञ्ज, २९ गते धनगढी, ३० गते डडेलधुरा, आगामी मंसिर १ गते बैतडी र दार्चुला तथा २ गते बाजुरा र बझाङमा नेता कार्यकर्ता भेटघाट र चुनावी आमसभालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले चुनावी सुरक्षासम्बन्धी बैठकमा आवश्यक निर्देशनसमेत दिएका छन्।

काँग्रेसले पहिलो चरणमा हुने ३२ जिल्लाका ३७ मध्ये ३५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएको छ भने बाँकी दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र नयाँ शक्ति पार्टीसँग गठबन्धन गरेको छ । त्यस्तै ३७ निर्वाचन क्षेत्रमा ७४ प्रदेशसभामध्ये ६६ मा उम्मेदवारी दिई बाँकी प्रदेशमा राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिसँग गठबन्धन गरेको नेता खाँणले जानकारी दिए।

दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले ४५ जिल्लाका १२८ मध्ये ११८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । बाँकी १० निर्वाचन क्षेत्रमा अन्य दलसँग गठबन्धन गरेको पार्टी कार्यालयले जनाएको छ । त्यस्तै १२८ निर्वाचन क्षेत्रका २५६ मध्ये २५४ प्रदेशसभामा काँग्रेसले उम्मेदवारी दिएको नेता खाँणले जानकारी दिनुभयो ।

 

प्रतिक्रया दिनुहोस्