टीकापुर पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा, ४ जना महिला स्वास्थ्य स्वयम् सेविका सम्मानित ।

लोकेन्द्र रावल टीकापुर २९ कात्तिक ।
टीकापुरलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि टीकापुरलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यबहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख थापाले बच्चा जन्मेपछि पाउनुपर्ने पहिलो अधिकार प्राप्त भएको बताउंदै जनप्रतिनिधि नभएर अधुरा रहेका कार्य अब पूरा हुने बताउनुभयो ।

समन्वय समितिका प्रमुख थापाले समन्वय समितिले तीन वटा योजना बनाएर काम अघि बढाएको बताउंदै कृषिलाई क्रान्तिको रुपमा अघि बढाउने, सामुदायिक वनलाई आयमूलक वन बनाउने र पर्यटन प्रबद्र्धनमा जोड दिने योजना अघि सारेर काम गरिरहेको बताउनुभयो । टीकापुर नगरपालिकाका वडा नं. १ देखि ५ सम्मका १२ महिनादेखि २३ महिना अवधि सम्मका ७ सय ६२ जना बालबालिकाले खोपका सबै मात्रा पुरा गरेकोले टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।टीकापुर बजारमा विभिन्न झांकी सहित निस्किएको ¥याली सहित टीकापुरको भानुचौकमा कार्यक्रम भएको हो ।कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख टंकप्रसाद चापागाईले प्रदेश नं. ७ मा अब कैलाली र डोटी मात्रै पूर्ण खोपयुक्त हुन बांकी रहेको बताउंदै टीकापुर घोषणा भइसकेकोले अबको केही दिनमा कैलाली पूर्ण खोप घोषणा हुने बताउनुभयो ।

चापागाईले ११ वटा रोगविरुद्ध दिइने खोप लगाउन प्रेरणा दिने स्वास्थ्यकर्मी, स्वयमसेविका र सहयोगीहरुको भूमिका महत्वपूर्ण रहेको बताउंदै घोषणा कार्यक्रमले उनीहरुको कामको मूल्याकंन भएको देखिएको बताउनुभयो ।

कार्यक्रममा डाक्टर रुपेश तिमिल्सिना, नेपाली कांग्रेसका धनराज उपाध्याय, ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालयका सिता दिदी, स्वयम सेविका रुक्मिणी शर्मा, साना शहरी खानोपनी तथा सरसफाई संस्थाका अध्यक्ष नवराज रावल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा टीकापुर नगरपालिकाले टीकापुरको स्वास्थ्य सेवामा २०५२ सालदेखि अनवरत सेवा दिनुभएका चार जना महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान सहित विदाई गरेको छ । ६० बर्ष उमेर पूरा भएका स्वास्थ्य स्वयम सेविकालाई नगरपालिकाले १० हजार नगद, प्रमाणपत्र सहित दोसल्ला ओढाई सम्मान र विदाई गरेको हो ।

सम्मानित तथा विदाई हुने स्वयम सेविकामा विष्णुदेवी ओझा, खुमादेवी घिमिरे, सोच चिरिया चौधरी र धनकलीया चौधरी रहनुभएको छ । जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापा र नगरपालिका नगर प्रमुख तपेन्द्र रावलले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।

सोही अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान दिने टीकापुर अस्पतालका प्राविधिक मुखिया मोहनसिंह साउंद, भ्याक्सिनेटर मकेन्द्र रोकाया र राजकुमार श्रेष्ठलाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गरिएको छ । कार्यक्रममा पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा कार्यक्रममा सघाउने विभिन्न ब्यक्तित्वलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्टले स्वागत गर्नु कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, पुर्ण खोप समन्वय समितीका पदाधिकारी, स्वयमसेविका, स्वास्थ्यकर्मी, स्वास्थ्यसंग सम्बन्धित व्यत्तित्व, आमा समूह, महिला समुह लगायतको सहभागिता थियो ।

नगरपालिकाका स्वास्थ्य संयोजक बलबहादुर रावलले कार्यक्रमबारे जानकारी दिनुभएको कार्यक्रम संचालन सह संयोजक कमल रावलले संचालन गर्नुभएको थियो ।नगरपालिकाका वडा नं. ६, ७, ८ र ९ यसअघि नै पूर्ण खोप घोषणा भइसकेका थिए ।

 

प्रतिक्रया दिनुहोस्