नेपाली कांग्रेस (वीपी)को घोषणापत्र-हिन्दू राज्य र दौरा सुरुवाल अनिवार्य ।

काठमाडौ, २९ कात्तिक ।
नेपाली कांग्रेस (वीपी)ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै हिन्दू राज्य र दौरा सुरुवाल टोपीका लागि संघर्ष गर्ने नीति अघि सारेको छ ।नेपाली कांग्रेसबाट अलग भएका नेताहरुले गठन गरेको नयाँ पार्टी कांग्रेस (वीपी)ले बुृधवार काठमाडौंको बत्तिसपुतलीमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेस (वीपी)का अध्यक्ष हरिबोल भट्टराईले सनात हिन्दू राष्ट्र पुनस्र्थापनाको जिम्मेवारी अब आफ्नो पार्टीले लिने बताए । उनले कमल थापालाई मण्डलेको संज्ञा दिदै हिन्दू राज्यलाई उनले मागी खाने भाँडो बनाएको आरोप लगाए ।

नेपाली कांग्रेस वीपीले आफ्नो पार्टीले जितेमा दौरा सुरुवाल कोट पुरुषका लागि राष्ट्रिय पोशाक अनिवार्य गर्ने र महिलाका लागि सारी,चोलो वा ब्लाउजको प्रयोगलाई अनिवार्य गरिने जनाएको छ ।

उसको घोषणापत्रमा भनिएको छ-राष्ट्रसेवक कर्मचारी,संवैधानिक अंगका व्यक्तिहरु र औपचारिक कार्यक्रममा सम्पूर्ण नेपाली नागरिकले प्रयोग गरिने राष्ट्रिय पोशाकको हकमा पुरुषले दौरा,सुरुवाल र ढाका टोपी वा भादगाउँले टोपी र महिलाको हकमा सारी, चोलो वा ब्लाउजको प्रयोगलाई अनिवार्य गरिनेछ ।

त्यस्तै नेपाली नागरिकताको प्रमाणपत्रमा राखिने फोटोमा पुरुषको शीरमा ढाका टोपी वा भादगाउँले टोपी हुनुपर्ने व्यवस्थालाई अनिवार्य गरिने घोषणापत्रमा उल्लेख गरेको छ । शेरवहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस इतिहासको शाखको आधारमामात्र टिकेको समेत टिप्पणी गरेको छ । कांग्रेस नेतृत्वमा व्यक्तिगत मनोकांक्षा देखिएको र कार्यकर्तामा निराशा रहेको भन्दै सो पार्टीको भविष्य नरहेको टिप्पणी गरेको छ ।

त्यस्तै एमालेलाई प्रजातान्त्रिक आवरणमा जनमत बटुलेर अन्तगोत्वा साम्यवादी समाजवाद लाद्ने अभीष्ट बोकेको पार्टी भनेको छ । माओवादी हत्या हिंसाको नियतबाट माथि नउठेको उसको आरोप छ ।

घोषणपात्र सार्वजनिक कार्यक्रममा महामन्त्री सुशीलमान शेरचन, झलकनाथ वाग्ले, प्रदिप पराजुली लगायतका नेताहरु थिए । सो पार्टीका अध्यक्ष हरिबोल भट्टराई लगायतका नेता चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् ।

(अनलाइनखबरको सहयोगमा )

प्रतिक्रया दिनुहोस्