नेपाली महिला क्रिकेट टिम मैत्रीपूर्ण खेलमा बंगलादेशसँग ५४ रनले पराजित ।

काठमाडौं, १ मङ्सिर ।
आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको तयारीमा रहेको नेपाली महिला क्रिकेट टिम मैत्रीपूर्ण खेलमा बंगलादेशसँग ५४ रनले पराजित भएको छ ।घरेलु टोली बंगलादेशले दिएको ११२ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ५ बलमा अलआउट हुँदै ५७ रनमा समेटिएको थियो । नेपालका लागि काजोल श्रेष्ठले १४ तथा  रितु कनोजिया र सिता रानाले समान १३–१३ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्न बंगलादेशकी जहानारा आलम, लिली रानी,  कुब्रा र फनिमा खातुनले समान दुई दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको बंगलादेशले पूरै २० ओभरमा ३ विकेट गुमाएर १११ रन बनाएको थियो । बंगलादेशकी संजिदा इस्लाम र फर्गना हकले समान ३० – ३० रन जोडिन । त्यस्तै लता मोन्दोल र रुमाना अहमेदले समान २३ – २३ रन जाडे । नेपालकी रुबिना क्षेत्री, सिता राना र नेरी थापाले समान एक एक विकेट लिए ।

थाइल्याण्डमा आगामी नोभेम्बर २० तारिखदेखि सुरु हुने टि–ट्वान्टी विश्वकप छनोटको बिशेष तयारीका लागि नेपाली टोली हाल बंगलादेशमा छ । नेपाली टोलीको घोषणा भैसकेको छ ।  छनोटमा थाइल्याण्डसँगै नेपाल, हङकङ, युएई र चीन गरी ५ राष्ट्र रहेका छन् ।

नेपालले पहिलो खेल नोभेम्बर २० तारिखमा आयोजक थाईल्याण्डविरुद्ध खेल्नेछ । त्यस्तै, दोस्रो खेलमा नेपालले नोभेम्बर २१ तारिखमा हङकङ विरुद्ध खेल्नेछ । तेस्रो खेलमा २३ तारिखमा युएईसंग प्रतिस्पर्धा गर्ने नेपालले आफ्नो अन्तिम खेल चीनसँग नोभेम्बर २६ मा खेल्नेछ ।

 

प्रतिक्रया दिनुहोस्