कक्षा ८ को परीक्षा सञ्चालन गर्न स्थानीय तहलाई निर्देशन, ११ को परीक्षा लिने जिम्मेवारी स्कुललाई दिने तयारी ।

काठमाडौं, ६ मंसिर ।
शिक्षा विभागले कक्षा ८ को परीक्षा सञ्चालनका लागि स्थानीय तहलाई आवश्यक सहयोग गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।अहिलेसम्म जिल्ला शिक्षा कार्यालयहरुले सञ्चालन गर्दै आएको कक्षा ८ को परीक्षा अब भने स्थानीय तहले गराउनेछ । संविधानमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमातहत हुने व्यवस्थालाई  कार्यान्वयन गर्न विभागले क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयलाई आवश्यक प्राविधिक तथा व्यवस्थापकीय कार्यमा सहयोग पुर्याउन निर्देशन दिएको हो ।उक्त परीक्षाका सन्दर्भमा आइतबार सचिवस्तरीय बैठकले निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार जिशिअहरुलाई निर्देशन र अनुगमनका लागि क्षेत्रीय निर्देशनालयलाई पत्राचार गर्न भनिए विभागले जनाएको छ ।

यसैगरी राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने जिम्मेवारी स्कुललाई दिने तयारी गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सरकारले विद्यालय शिक्षा स्थानीय तहलाई जिम्मेवारी दिएकोले कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी स्कुललाई नै दिने तयारी गरिरहेको जनाए ।

कक्षा १२ को परीक्षा सञ्चालन, व्यवस्थापन तथा नतिजा प्रकाशनको जिम्मेवारी भने राष्ट्रिय परीक्षा बोर्डकै हुने उनले जानकारी दिए । कक्षा ११ को परीक्षा व्यवस्थापन गर्न स्कुलका प्रधानाध्यापकहरुसँग बोर्डले छलफल गरिरहेको छ । परीक्षाको निर्देशिकाअनुसार प्रश्नपत्र तयारी र सोही अनुसार मोडल बनाएर अभिमूखिकरण गर्ने तयारी बोर्डले गरिरहेको उनले बताए ।

अध्यक्ष पौडेलले हालसम्म कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन र व्यवस्थापन गर्दै आएकोमा आगामी वर्षदेखि कक्षा ११ को परीक्षा स्कुलहरू आफैंले सञ्चालन र नतिजा प्रकाशन गर्ने बताए । संविधानले नै विद्यालय शिक्षा (प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म) स्थानीय तहले व्यवस्थापन गर्ने व्यवस्था गरेको छ ।

(बाह्रखरीको सहयोगमा )

प्रतिक्रया दिनुहोस्